नेपाली हलमा नचलेको ‘ट्वेल्थ फेल’को चर्चा किन हुँदैछ ?

सामाजिक संजालमा विगत केही दिनदेखि बलिउड फिल्म ‘ट्वेल्थ फेल’को चर्चा गर्मिएको छ । सुरुवातमा यसको कथावस्तुलाई लिएर संजाल गर्मिएको थियो । अहिले, यसका पात्रहरूलाई लिएर संजाल झनै गर्मिएको छ । 

आखिर, फिल्ममा त्यस्तो के छ, जसले आजका दिनमा आम नेपालीहरूको ध्यान खिचेको छ ? आउनुहोस्, यस बारे चर्चा गरौँ । 

यो फिल्म नेपालका हलमा रिलिज नै भएन । कलाकारको बलियो लाइनअप नभएका कारण नेपाली वितरकले यो फिल्म भित्र्याएनन् । नेपालमा, बलिउडका थुप्रै फिल्महरू राम्रो भएर पनि नभित्रिएको उदाहरण यसअघि पनि देखिएकै हो । 

तर, जब यो फिल्म ओटिटीमा रिलिज भयो, यसपछि यसको चर्चा चुलिएको हो । धेरै नेपालीहरूले भने अवैधानिक रुपमा युट्युबमा यो फिल्म अपलोड भएपछि हेरेर चर्चा गर्दैछन् । आशिष यादव नाम गरेको च्यानलबाट ५ दिन अगाडि यो फिल्म युट्युबमा रिलिज भयो । जसलाई २० लाख पटक युट्युबमा हेरिसकिएको छ । 

अनुराग पाठकको पुस्तक ‘ट्वेल्थ फेल’मा आधारित रहेर यो फिल्म तयार भएको हो । जसलाई विधु विनोद चोपडाले निर्देशन गरेका हुन् । 

यो फिल्मले मनोज कुमार नाम गरेका एक व्यक्तिको बायोपिक भनेको छ, जसले आइपीएस अफिसर्स बन्नका लागि गरेको संघर्षको कथा भन्छ ।

यस्तै, उनलाई साथ दिएकी श्रद्धा जोशीको कथा पनि यो फिल्मले भन्छ । वास्तविक जीवनमा आधारित यो फिल्ममा मनोजको भूमिकामा विक्रान्त मेसी र श्रद्धाको भूमिकामा मेधा शंकरले अभिनय गरेका छन् । 

यो फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन १ करोडको ओपनिङ गरेको थियो । तर, फिल्मको बलियो वर्ड अफ माउथका कारण फिल्मले रिलिजको छैटौँ दिनमा १ करोड ८५ लाखको व्यापार गरेको थियो । फिल्मको व्यापार पहिलो सातामा भन्दा दोस्रो सातामा उच्च देखियो । मुख्यकारण, यसको बलियो वर्ड अफ माउथ र कथा नै थियो । 

यो फिल्मले आइपीएस अफिसर्स बन्नका लागि एउटा दुर्गम गाउँबाट दिल्ली पुगेको युवाको संघर्षको कथा भन्छ । पटक–पटक असफल हुँदा पनि उसले थुप्रै दुःख झेल्दै गरेको संघर्षको कथा यो फिल्ममा देखाइएको छ । 

अर्कातिर, मनोज नाम गरेको पात्रलाई साथ दिन वरिपरी जोडिएका श्रद्धा लगायतका पात्रले फिल्मलाई अझ बलियो बनाएका छन् । यहीकारण, यो फिल्म विशेषगरि युवापुस्तामा लोकप्रिय बनेको हो ।
 
फिल्ममा विक्रान्तको अभिनय बुलन्द छ । उनलाई साथ दिएकी मेधाको अभिनयले पनि दर्शकको मन जित्छ । 

हलमा पनि सुखद कमाई गरेको यो फिल्मलाई ओटिटीमा झनै रुचाइएको छ । फिल्मको प्रस्तुति, कथावस्तु, पटकथा र कलाकारको अभिनयले उत्कृष्ट बनाएको छ । यहीकारण, ‘ट्विल्थ फेल’ नेपालीहरुमाझ पनि चर्चामा रहन पुगेको हो ।