'एनिमल' बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म

भारतीय फिल्म क्षेत्रका लागि सन् २०२३ निकै विशेष रह्यो ।

बलिउडदेखि साउथ इन्डियन सम्मका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । कतिपय फिल्मले कमाइको हिसाबले रेकर्ड समेत बनाएका छन् । 

२०२३ को सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ होस् वा ‘गदर–२’, ‘जवान’, ‘एनिमल’ र ‘सालार’ जस्ता धेरै फिल्मले धूम मच्चाउन सफल भए ।

शाहरुख खानका लागि भने त विगतको वर्ष निकै नै विशेष रह्यो । उनले तीनवटा फिल्म ल्याए, जसमध्ये दुई ब्लकबस्टर र एउटा हिट भयो। शाहरुख खानका फिल्म ‘पठान’ र ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममा गनिन् पुगे ।

तर २०२३ को अन्त्य, रणवीर कपूरको फिल्म एनिमलले शाहरुख खानको एक फिल्मको रेकर्ड तोड्यो र गत वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्न पुगेको छ ।

सैनलिंकका अनुसार शाहरुख खानको फिल्म पठानले भारतीय बक्स अफिसमा कुल ५४०.५१ करोडको व्यापार गरेको थियो । जसलाई ३१ औँ दिन रणवीर कपुरको एनिमलले तोडेको छ ।

फिल्म एनिमलले ३१ औँ दिन बक्स अफिसमा ४ करोड कमाएको छ । यसपछि एनिमलको भारतमा कुल बक्स अफिस कलेक्सन ५४४.९३ करोड पुगेको छ । फिल्म एनिमलले बक्स अफिसमा दर्शकको निकै माया पाइरहेको छ । एनिमल १ डिसेम्बरमा थिएटरहरूमा रिलिज भएको थियो।

यस फिल्ममा रणवीर कपूर, बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए। फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् । फिल्ममा बबी देओल र रणवीर कपुरको भूमिकाले निकै चर्चा कमाएको छ ।