सन् २०२४ मा बलिउडः छैनन् खानका फिल्म, अक्षय र अजयमा भर

सन् २०२३ बलिउड फिल्मका लागि निकै नै सुखद रह्यो । यो बर्ष बलिउडले कमब्याक मात्र गरेन, बक्स अफिसमा बम्पर कमाई समेत गर्यो । यसैले, सन् २०२३ लाई बलिउडको सबैभन्दा सुखद बर्षको रुपमा मान्न सकिन्छ ।

यो बर्ष ५ सय करोड क्लबमा ३ वटा फिल्म प्रवेश गरे । ‘पठान, जवान, गदर २’ले बक्स अफिसमा तहल्का मच्चाउँदा ‘एनिमल’ले पनि तरंग नै पैदा गर्यो । 

यो बर्ष बलिउड नायक साहरूख खानका लागि विशेष रह्यो । उनले अभिनय गरेका दुई फिल्मले १ हजार करोड माथिको कलेक्शन गर्यो भने उनले नै बलिउडमा ५ सय र ६ सय करोडको स्थापना गरे । 

तर, यो बर्ष बलिउडका धेरै सुपरस्टारहरुको फिल्म रिलिज नहुने पक्का छ । साहरूख खान, सलमान खान र आमिर खानको यो बर्ष कुनै पनि फिल्म रिलिज हुने छैन । 

तर, यो बर्ष साहरूखले ‘द किङ’ नामक फिल्ममा विशेष केमियो भूमिका गर्नेछन् भने सलमान खानले ‘द बुल’को छायांकन सक्नेछन् । यी दुवै फिल्म सन् २०२५ मा रिलिज हुनेछन् । 

यो बर्ष नायक अजय देवगणको फिल्म ‘सिंघम ३’ रिलिज हुनेछ । तर, यो फिल्मका लागि साउथको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ अवरोध बन्न सक्छ ।

किनकी, यी दुवै फिल्म एउटै मितिमा रिलिज हुँदैछन् । बक्स अफिसमा सुपरहिटको व्यापार गर्ने संभावना रहेको फिल्ममा रोहित सेट्टीको ‘सिंघम ३’ हो ।

जनवरीको २५ तारिखबाट रिलिजमा आउन लागेको फिल्म ‘फाइटर’ पनि यो बर्षको प्रतीक्षित फिल्म हो । बक्स अफिसमा यो फिल्मले ३ सय करोड माथिको कलेक्शन गर्ने आँकलन गरिएको छ । ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर जस्ता स्टार कलाकारको यो फिल्मले बलिउडलाई सुखद सुरुवात दिन सक्छ ।

नायक अक्षय कुमारका फिल्मको लाइनअप यो बर्ष धेरै छ । तर, यो बर्ष उनी अभिनित फिल्म ‘वेलकम ३’ले बक्स अफिसमा राम्रो कमाई गर्न सक्छ । अन्य फिल्मको व्यापार औसत रहने आँकलन गर्न सकिन्छ । 

यसरी हेर्दा, यो बर्ष गतबर्षको जस्तै ५ सय करोडको ब्लकबस्टर कलेक्शन गर्ने फिल्मको संख्या शून्य हुनसक्छ । विश्व बजारबाट १ हजार करोडको अपेक्षा पनि यो बर्ष बलिउड पण्डितहरूले गरेका छैनन् । तर, बक्स अफिसमा यो बर्ष ऋतिक रोशन, अजय देवगण, अक्षय कुमार, कार्तिक आर्यन जस्ता स्टारका फिल्मले राम्रो कमाई गर्न सक्छन् ।