‘सलार’को फेक कलेक्शनले भारतीय मिडियामा तरंग

प्रशान्त निलको निर्देशन र प्रभाषको मुख्य भुमिकामा तयार भएको साउथ फिल्म ‘सलार’को फेक कलेक्शनले भारतीय मिडियामा तरंग छाएको छ । यस्तै, सामाजिक संजाल एक्समा पनि ट्रेडहरुले फेक कलेक्शनलाई लिएर मजाक बनाइरहेका छन् । 

पहिलो दिनमा नै करिब २ सय करोड नजिकको विश्वव्यापी कलेक्शन यसको निर्माण कम्पनी हम्बल फिल्मस्ले सार्वजनिक गरेको थियो । तेस्रो दिनसम्म फिल्मको विश्वव्यापी ग्रस कलेक्शन ४ सय करोड कटेको थियो ।

तर, भारतीय मिडिया र ट्रेडहरुले तीन दिनमा कलेक्शन ३ सय ३ करोड मात्र भएको आँकडा सार्वजनिक गरे । मिडिया र सामाजिक संजालमा फेक कलेक्शनको पाटो खुलेपछि हम्बलले आफ्नो एकाउन्टबाट कलेक्शनको सबै तस्विर हटाएको छ । 

अहिले बलिउडमा मात्र नभएर, तेलुगु बजारमा पनि ‘सलार’को फेक कलेक्शनलाई लिएर चर्को आलोचना भइरहेको छ । 

यसैबिच, हम्बल फिल्मस्ले हिन्दी भाषामा फिल्म लागेका अधिकांश हलमा आज बिहानको ६, साढे ६ र ७ बजेको शो खरिद गरेको थियो । बिहान ६ बजे नै फिल्मको शोहरु सोल्ड आउट भएपछि यसले सामाजिक संजालमा तरंग नै पैदा गर्यो ।

बुक माई शोमा शोजहरु सोल्ड आउट भएपनि बिहान ६ बजे हलमा दर्शक नै नभएको भिडियो सार्वजनिक भएको छ । यसले, ‘सलार’का मेकरले फिल्मलाई हिट देखाउन झुटो कलेक्शन सार्वजनिक गरेको तथ्य सार्वजनिक भएको छ । अर्कातिर, हिन्दी भाषामा फिल्म हिट भएको देखाउन फर्जी बुकिङको रहस्य पनि खुलेको हो । 

सामाजिक संजालमा यी सबै कुराहरू पर्दाफास हुन थालेपछि हम्बल फिल्मस् समस्यामा देखिएको छ । साढे ४ सय करोड बजेटमा बनेको फिल्मले विश्व बजारबाट ५ सय करोड पनि नकमाउने देखिएको छ ।

‘केजीएफ र केजीएफ २’ जस्तो ब्लकबस्टर फिल्म दिएको हम्बलको ‘सलार’लाई नकारात्मक प्रतिक्रिया मिलेको थियो । योसँगै बक्स अफिसमा यसको व्यापार पहिलो दिनपछि निरन्तर ओरालो लागेको छ । यही कुरालाई ढाकछोप गर्न निर्माणपक्षले झुटो कलेक्शनदेखि कर्पोरेट बूकिङ गरिरहेका छन् ।