२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

बक्स अफिसमा बलिउड नायक रनविर कपुर अभिनित फिल्म ‘एनिमल’ले आक्रामक व्यापार गरिरहेको छ । फिल्मको आक्रामक व्यापारसँगै नायक रनविर कपुरको स्टारडम नयाँ तहमा पुगेको छ । 

शुक्रबार यो फिल्मले बक्स अफिसमा ५४.७५ करोडको ओपनिङ गरेको थियो । यस्तै, शनिबार फिल्मको व्यापार ५८.३७ करोड पुगेको छ । दुई दिनमै यो फिल्मले बक्स अफिसमा ११३.१२ करोडको कमाई गरेको छ । 

फिल्मले विकेन्ड कलेक्शनमा १ सय ६५ करोड माथिको व्यापार गर्ने निश्चित देखिएको छ । फिल्मले बक्स अफिसमा ५ सय करोडको कमाई गर्ने अनुमान गरिएको छ । 

यस्तै, फिल्मले अन्य भाषामा शुक्रबार ९.०५ र शनिबार ८.९० करोडको कमाई गरेको छ । 

सन्दिप रेड्डीको निर्देशनमा भूषण कुमारको निर्माण रहेको यो फिल्ममा रनविर कपुरको साथमा रश्मिका मन्दना, अनिल कपुर, बबी देवल लगायतका कलाकारको मुख्य भूमिका छ । नेपालमा पनि यो फिल्मको बम्पर व्यापार छ ।

शुक्रबार र शनिबार मात्र फिल्मले नेपाली बक्स अफिसमा ३ करोड हारहारीको ग्रस कलेक्शन गरेको बताइएको छ । आज पनि फिल्मको व्यापार नेपालमा आक्रामक छ ।