चर्चित टिभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको निधन, बाथटबमा शव भेटियो

चर्चित वेब सिरिज ‘फ्रेन्ड्स’मा चण्डलर बिङको भूमिका निर्वाह गरेका हलिउड तथा क्यानेडियन अभिनेता म्याथ्यु पेरीको निधन भएको छ।

५४ वर्षका पेरी लस एन्जलसमा रहेको घरमा मृत भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

म्याथ्यूको तातो बाथटबमा डुबेर मृत्यु भएको बताइएको छ। लस एन्जलस टाइम्सका अनुसार म्याथ्यूलाई शनिबार, अक्टोबर २८ मा बेलुका ४ बजे उनको घरमा फेला पारिएको थियो।  रिपोर्टका अनुसार अमेरिकाको लस-एन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको छ।

म्याथ्यू आफ्नो लागुऔषधको लतबाट समस्यामा परेका थिए। ‘फ्रेन्ड्स, लभर्स एन्ड द बिग टेरिबल थिंग’ मा उनले आफैंले यो कुरा उल्लेख गरेका थिए।

यस्तै, वार्नर ब्रदर्सले एक विज्ञप्ति जारी गर्दै लेखेको छ, 'हाम्रा प्रिय साथी म्याथ्यू पेरीको निधनले हामी मर्माहत भएका छौं। म्याथ्यू एक अविश्वसनीय रूपमा प्रतिभाशाली अभिनेता र वार्नर ब्रदर्स टेलिभिजन समूह परिवारको एक अमिट भाग थिए। उनको हास्य प्रतिभाको प्रभाव संसारभरि महसुस गरिएको थियो। उनको विरासत धेरैको हृदयमा बाँच्नेछ। यो एक हृदयविदारक दिन हो। हामी उहाँको परिवार, उहाँका प्रियजनहरू र उहाँका सबै समर्पित प्रशंसकहरूलाई हाम्रो माया पठाउँछौं।'

म्यासाचुसेट्समा अभिनेता पिता र पत्रकार आमाबाट जन्मिएका पेरी आमाबाबुबाट अलग भएपछि युवाको रुपमा क्यानडाको ओटावा बस्न गएका थिए। सन् १९७९ मा नाटक ‘२४० रोबर्ट’मा सानो भूमिका निर्वाह गरेसँगै उनको अभिनय यात्रा सुरु भएको थियो। 

म्याथ्यु पेरीले सन् १९७९ मा टीभीमा डेब्यु गरेका थिए। उनले २४०-रोबर्टको एपिसोडमा अभिनय गरे।  सन् १९९४ देखि २००४ सम्म प्रदर्शनमा आएको चर्चित टिभी सिरिज 'फ्रेन्ड्स'मा चन्डलर बिंगको भूमिकामा अभिनय गरेका थिए । न्यूयोर्क शहरमा बस्ने छ जना युवा साथीहरूको जीवनमा आधारित कमेडी विधाको यो सिरिजको अन्तिम एपिसोडलाई ५२.५ मिलियनले हेरेका थिए । यो त्यतिबेला सबेभन्दा धेरै हेरिएको संख्या थियो ।त्यसपछि उनले एकपछि अर्को धेरै शोमा काम गरे।

उनले ‘नट नेसेसरी द न्युज’,‘ सिल्भर स्पुन्स’, ‘चार्ल्स इन चार्ज’, ‘हाइवे टु हेभन’ र ‘जस्ट द टेन अफ अस’मा पनि काम गरेका थिए।