किन अभिनयबाट लामो ब्रेक लिँदै छन् रणवीर कपुर

 बलिउड अभिनेता रणवीर कपुरले अब अभिनयबाट लामो ब्रेक लिने भएका छन् । यस समयमा उनले छोरी राहासँग पूर्ण समय बिताउनेछन् ।

पत्नी अभिनेत्री आलिया भट्ट आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त हुने भएकाले उनले यो निर्णय लिएका हुन् । यसैलाई ध्यानमा राखेर रणवीरले यो निर्णय लिएका हुन् ।

हालै रणवीरले जूम सेसन मार्फत आफ्ना फ्यानहरूसँग भेट गरेका थिए । सो क्रममा उनले आफ्नो भावी योजनाका बारेमा कुरा गरे । अब ५–६ महिना घरमै बस्ने उनले बताए ।

यतिबेला उनको सम्पूर्ण ध्यान राहामा मात्र केन्द्रित हुनेछ । राहाको जन्म हुँदा उनी एनिमलको सुटिङमा व्यस्त थिए । जसका कारण उनले छोरीसँग गुणस्तरीय समय बिताउन सकेनन् । उनी अहिले पितृत्व बिदा चाहन्छन् किनभने राहा अहिले निकै भावुक बनेकी छन् ।

रणवीरले थप भने, ‘राहा बामे सरिरहेकी छिन् । उसले मानिसहरूलाई चिन्दै छ। धेरै माया दिइरहेकी छिन् । उनी पनि पा र मा जस्ता शब्द बोल्न खोज्छिन् । यो उनको वरिपरि भएको सबैभन्दा सुन्दर समय थियो र म यसलाई सधैं सम्झनेछु।’

रणवीरले पत्नी आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त रहेको बताए । जसका कारण उनले यस अवधिमा राहाको हेरचाह गर्नेछन् । उनले अब छिट्टै राहाको पहिलो जन्मदिन आउँदै गरेको र त्यसका लागि आफन्त र साथीभाइसँग सानोतिनो उत्सव मनाउने पनि बताए ।