विवाहको ६ हजार प्रस्ताव अस्वीकार गरेका प्रभास

बाहुबली स्टार प्रभास आजबाट ४४ वर्षका भएका छन् । भारतमा पान इन्डिया फिल्मको ट्रेन्ड ल्याएका प्रभासको कुनै पनि फिल्म रिलिज हुँदा दक्षिणका धेरै सहरहरूमा रमाइलो र सजाउने गरिएको छ। तर, एक समय थियो जब प्रभास हिरो बन्न चाहँदैनथे । आजका सुपर स्टार प्रभास काकाको आग्रहमा फिल्ममा आउँदा उनको सुरुको यात्रा भने सहज थिएन ।

प्रभासको जन्म २३ अक्टोबर १९७९ मा मद्रास तमिलनाडुमा भएको थियो । उनको पूरा नाम उप्पलापति वेंकट सूर्यनारायण प्रभास राजु हो, जो दक्षिणका लोकप्रिय निर्माता उप्पलापति सूर्य नारायणका छोरा हुन्। प्रभास तीन दाजुभाइमध्ये कान्छो हुन्। 

प्रभासले आफ्नो प्रारम्भिक शिक्षा भीमावरमको डीएनआर स्कूलबाट प्राप्त गरेका थिए। उनले हैदरावादको नालन्दा कलेजबाट अध्ययन पूरा गरेपछि सत्यानन्द फिल्म इन्स्टिच्युट, विशाखापट्टनममा भर्ना भएका थिए ।

फिल्मी परिवारबाट आए पनि प्रभास कहिल्यै हिरो बन्न चाहँदैनथे । उनी होटल व्यवसाय गर्न चाहन्थे, किनभने उनी आफैं खाना र पेयको पारखी थिए। प्रभासको परिवारले उनलाई फिल्ममा ल्याउन चाहन्थे । एक दिन प्रभासका काकाले उनलाई फिल्म अफर गरे । प्रभासलाई उनी फिल्मको नायक बनाउन चाहन्थे किनभने त्यो फिल्मको नायकको चरित्र प्रभासको वास्तविक चरित्रसँग मिल्दोजुल्दो थियो। प्रभासले लामो समयसम्म इन्कार गरिरहे तर आफ्नो परिवारको लागि उनले अन्ततः फिल्म साइन गराएरै छाड्यो ।

त्यो फिल्म सन् २००२ मा रिलिज भएको थियो । फिल्मको नाम ईश्वर थियो । तर, यो फिल्मबाट प्रभासले खासै पहिचान पाउन सकेनन् । यस पछि, उनी सन् २००४ फिल्म वर्षममा देखा परे, जसले उनलाई साउथ इन्डस्ट्रीमा पहिचान दिलायो। प्रभासले सन् २००५ मा एसएस राजामौलीको फिल्म छत्रपतिमा देखिएका थिए । यो फिल्मसँगै प्रभासको अनौठो स्टाइल र आकर्षणलाई दर्शकले मन पराउन थाले, जसका कारण उनले ठुलै स्टारडम हासिल गरे । यसपछि प्रभासले डार्लिंग, मिस्टर परफेक्ट र रिबेल जस्ता धेरै हिट फिल्महरूमा काम गरे।

पान इन्डिया स्टार बन्नुअघि नै बलिउड फिल्म 

सन् २०१५ मा फिल्म बाहुबलीबाट विश्वव्यापी लोकप्रियता हासिल गर्नुअघि प्रभास २०१४ मा रिलिज भएको फिल्म एक्सन ज्याक्सनमा देखिएका थिए। फिल्मको पञ्जाबी मस्त गीतमा देखिए पनि उनले आफ्नो पहिलो बलिउड फिल्मबाट देर्शक माझ कुनै पहिचान भने बनाउन सकेनन् ।

प्रभास कसरी बने बाहुबली ?

सन् २०१५ मा रिलिज भएको फिल्म बाहुबलीको तयारी सन् २०११ मै सुरु भएको थियो । सबैभन्दा पहिला फिल्ममा अमरेन्द्र बाहुबलीको भूमिका ऋतिक रोशनलाई अफर गरिएको थियो तर उनले यो फिल्म गर्न अस्वीकार गरेका थिए । ऋतिकले अस्वीकार गरेपछि यो फिल्म प्रभासलाई दिइएको थियो । उनले फिल्म साइन गरे र केही महिनासम्म आफ्नो शरीर परिवर्तनमा काम गरे । शक्तिशाली अमरेन्द्र बाहुबलीको भूमिकाका लागि उनले १०५ केजी तौल बढाएका थिए । यो उनको करियरको १८ औं फिल्म थियो ।

यो फिल्ममा काम गर्नका लागि प्रभासले ५ वर्षसम्म कुनै पनि फिल्म साइन गरेनन् । यो त्यो समय पनि थियो जब उनलाई धेरै ठूला फिल्मको अफर आयो तर उनले सबै अफर अस्वीकार गरे । रिलिजपछि यो फिल्म उनको करियरकै सबैभन्दा ठूलो हिट साबित भयो तर यो फिल्ममा काम गर्दा प्रभासले आर्थिक संकट पनि झेल्नु परेको थियो किनभने त्यतिबेला यो फिल्म बाहेक उनको कमाई गर्ने अर्को स्रोत थिएन । सन् २०१५ मा यो फिल्म तेलुगु, तमिल, हिन्दी र मलायालम भाषामा देशभर ४ हजार स्क्रिनमा रिलिज भएको थियो।

फिल्म बाहुबली तेलुगु र साउथ फिल्मको सबैभन्दा धेरै कमाउने फिल्म थियो। यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो। यी दुवै कीर्तिमान यसको सिक्वेल फिल्म बाहुबलीः द कन्क्लुजनले तोडेको छ । प्रभासको फिल्म बाहुबली भारतको पहिलो फिल्म हो जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको थियो ।

फिल्म हिट भएपछि ६ हजार विवाहको प्रस्ताव

बाहुबली फिल्मबाट पान इन्डिया स्टार बनेपछि प्रभासको फ्यान फलोइङ धेरै गुना बढेको थियो । यो फिल्मपछि उनलाई ६ हजार युवतीले विवाहको प्रस्ताव राखेका थिए । तर, प्रभासको परिवारले उनीहरुको सम्बन्धलाई फाइनल गरिसकेको बताइएको छ ।

प्रभासले फ्यानको लागि सुटिङ छोडे

उत्कृष्ट फिल्मका अलावा प्रभास सामाजिक कार्यका लागि पनि परिचित छन् । एकपटक प्रभास आफ्नो एउटा फिल्मको सुटिङमा थिए । त्यही क्रममा उनलाई थाहा भयो कि उनका २० वर्षका फ्यानमध्ये एक क्यान्सरसँग लडिरहेका छन् । खबर पाएलगत्तै प्रभास सुटिङबाट ब्रेक लिएर फ्यानलाई भेट्न अस्पताल पुगेका थिए । प्रभासले उनीसँग धेरै समय बिताए र दुःखको कुरा साटा साट गरेका थिए । फ्यानको केहि दिन पछि निधन भयो।

१६५० एकड जङ्गल ग्रहण

सन् २०२० मा, प्रभासले हैदरावाद नजिकै रहेको काजीपल्ली वन रिजर्भलाई अपनाए। २ करोड रुपैयाँ दान गरेपछि प्रभासले अब त्यो जङ्गलको सबै जिम्मेवारी लिइरहेका छन् । त्यो जंगल १६५० एकडमा फैलिएको छ । प्रभासले यो जङ्गल आफ्नो बुबाको नाममा ग्रहण गरेका हुन् ।

विश्व रेकर्डमा प्रभासको फिल्मको नाम दर्ता

फिल्म बाहुबली रिलिज हुनुअघि कोच्चिको युनाइटेड मिडिया कम्पनीले प्रभासको ५० हजार स्क्वायर फिटको पोस्टर बनाएको थियो । यो पोस्टरका कारण फिल्म र प्रभासको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

दक्षिणका पहिलो अभिनेता जसको मैनको मूर्ति

सन् २०१७ मा बाहुबलीको सफलतापछि बैंककको म्याडम तुसादमा प्रभासको मैनको मूर्ति बनाइएको थियो। प्रभास पहिलो साउथ स्टार हुन् जसको म्याडम तुसाद म्युजियममा मैनको मूर्ति राखिएको छ । यस बाहेक अभिनेत्री काजल अग्रवाल र महेश बाबुको मैनको मूर्ति पनि म्याडम तुसाद संग्रहालयमा राखिएको छ ।

प्रभासका आगामी प्रोजेक्टहरू

प्रभास छिट्टै प्रशान्त नील निर्देशित फिल्म सालारमा देखिनेछन् । यसपछि उनी नाग अश्विनको पौराणिक फिल्म कल्की २८९८ ईस्वीमा देखिनेछन् । यस फिल्ममा उनीसँगै दीपिका पादुकोण, अमिताभ बच्चन र दिशा पटानी पनि देखिनेछन् ।

यी दुई ठूला फिल्मबाहेक उनी हरर कमेडी फिल्म राजु डिलक्समा काम गरिरहेका छन् । उनको २५ औं फिल्म सन्दीप रेड्डी वांगाको स्पिरिट हुनेछ। प्रभासलाई सिद्धार्थ आनन्दको अनटाइटल फिल्ममा पनि कास्ट गरिएको खबर बाहिरिएको छ ।