थलापति विजयको ‘लियो’लाई मिश्रित प्रतिक्रिया, जान्नुहोस् कस्तो छ ?

साउथका सुपरस्टार थलापति विजय अभिनित फिल्म ‘लियो’ आजबाट विश्व भर रिलिज भएको छ । यो फिल्मले आज  विश्व भर बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने पक्का छ । भारतमा पनि यो फिल्मले सय करोड माथिको ओपनिङ कलेक्शन गर्ने बताइएको छ । 

तर, फिल्म रिलिज भएसँगै प्रतिक्रियाहरू सार्वजनिक हुन थालेका छन् । साउथका सुपरस्टार थलापति विजयको फ्यान फ्लोइङ बाक्लो भएकाले पनि यसले आक्रामक ओपनिङ गर्ने कुरामा त दुईमत छैन । तर, फिल्मलाई भने मिश्रित प्रतिक्रिया मिलिरहेको छ ।

विशेष गरि, ट्विटरमा लोकेश कंगनराजको निर्देशनमा तयार भएको यो फिल्मको कथावस्तु निकै नै कमजोर छ । परिवारका लागि एउटा पिताले गर्ने लडाइको कथामा यो फिल्म बनेको छ ।

साथै, फिल्मको केन्द्रीय पात्रले आफ्नो वास्तविकता लुकाएर कसरी नयाँ जीवन बाँच्छ र परिवारका लागि लड्छ भन्ने कथामा फिल्म बनेको छ । यो साउथका लागि कुनै नयाँ फिल्म होइन । निर्देशक लोकेशले फिल्मको एक्सनमा बढी ध्यान दिँदा कथा वाचनमा खासै महत्व नदिएको देखिन्छ । यसैले, यसको कथाले दर्शकलाई छुँदैन । 

तर, फिल्ममा थलापति विजयको एक्सन भने गजब हेर्न पाइन्छ । एक्सन कोरियोगाफीमा निकै मिहिनेत गरिएको छ । अझ, एक्सनमा भने हिंसात्मक दृश्यहरु बढी देखिन्छन् । यसैले, थलापति विजयका फ्यान र एक्सन फिल्म मन पराउनेहरूका लागि ‘लियो’ विशेष बन्न सक्छ ।

अन्य दर्शकका लागि भने यो फिल्मले खासै छुँदैन । यसैले, यो फिल्मले ओपनिङमा आक्रामक व्यापार गरे पनि लामो रेशको घोडा बन्न भने सक्ने छनक देखाएको छैन ।