हलमा रिलिज भएको चार हप्तामै ‘लियो’ ओटिटीमा आउने

साउथ सुपरस्टार थलापति विजयको फिल्म ‘लियो’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । ‘लियो’ विजयको यस वर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक हो । यो फिल्म रिलिजलाई लिएर विजयका फ्यानहरु उत्साहित छन् । फिल्मको टिजरले जस्तो हाइप पाएको थियो, ट्रेलरले पाउन सकेको छैन ।

यही आउँदो अक्टुबर १९ बाट विश्वव्यापी रिलिज हुन लागेको फिल्मको प्रतीक्षा नेपाली फ्यानले पनि गरिरहेका छन् ।

यसैबिच, फिल्म ‘लियो’ ओटिटी रिलिजको बारेमा नयाँ खबर बाहिर आएको छ । यसको अधिकार ओटिटी प्लेटफर्म नेटफ्लिक्सलाई बेचिएको छ । फिल्म ‘लियो’को ओटिटी राइट्स १२५ करोड भारुमा बिक्री भएको हो । तर, यसका निर्माताहरूले फिल्मको ओटिटी रिलिजको बारेमा केही कुरा खुलाउन चाहिरहेका छैनन् ।

फिल्म ‘लियो’ रिलिजको सङ्घारमा रहेकाले यसको अग्रिम बुकिङलाई ध्यानमा राख्दै निर्माताले ओटिटीको बारेमा सकेसम्म खबरहरू गोप्य राख्न चाहिरहेको देखिन्छ ।

यो फिल्मले रिलिजसँगै नयाँ कीर्तिमान बनाउन सक्ने विश्वास गरिएको छ । साथै, ‘लियो’को ओपनिङ कलेक्सन आक्रामक हुने विश्वास पनि गरिएको छ । यता ओटिटी रिलिजका सम्बन्धमा निर्माताहरू छिट्टै औपचारिक घोषणा गरिने बताइरहेका छन् ।

यो फिल्मलाई डिसेम्बरको पहिलो साता नै ओटिटी प्लेटफर्ममा रिलिज गरिने भएको छ । फिल्म रिलिज भएको एक महिनापछि नै यो फिल्म ओटिटीमा आउने भएपछि हल साझेदारीमा भने यसले घाटा व्यहोर्न सक्ने टिप्पणी भइरहेको छ । हलमा रिलिज भएको एक महिनामै ओटिटी रिलिज हुने भएकाले पनि यो फिल्मलाई हिन्दी भाषामा औपचारिकताका लागि मात्र रिलिज गरिने भएको छ ।

भारतका मुख्य मल्टिप्लेक्स चेनहरु पीभीआर र सिनेप्लेक्सले हलमा रिलिज भएको ८ सातापछि मात्र ओटिटीमा रिलिज गर्नुपर्ने नियम बनाएका छन् । यही कुरामा निर्माता र प्रदर्शकबिच मतभेद हुँदा ‘लियो’ हिन्दी भाषामा मुख्य चेनहरुमा रिलिज नहुने भएको छ । यसकारण, यसको हिन्दी भाषाको व्यापार निकै कमजोर हुने आँकलन गरिएको छ । अर्कोतिर, ओटिटीमा चाँडै रिलिज हुँदा यसको विश्वव्यापी व्यापारमा समेत असर पर्न सक्छ ।

लोकेश कनागराजद्वारा निर्देशित ‘लियो’ एक एक्शन थ्रिलर फिल्म हो, जसमा थलापति विजय मुख्य भूमिकामा छन् । सञ्जय दत्त, त्रिशा, अर्जुन सर्जा, गौतम मेनन, मिस्किन र प्रिया आनन्द पनि फिल्मको मुख्य कलाकार हुन् । यो फिल्ममा लोकेश कनागराजको साथमा रत्न कुमार र धिरज वैद्यको पटकथा छ ।