‘जवान’ हिट भएपछि साहरुखलाई धम्की, प्रहरीले दियो ‘वाई प्लस’को सुरक्षा


मुम्बई प्रहरीले बलिउड स्टार नायक साहरुख खानलाई ‘वाई प्लस’को सुरक्षा दिएको छ । साहरुखले यो बर्ष मात्र ‘पठान र जवान’ जस्तो ब्लकबस्टर फिल्म दर्शकमाझ दिएका थिए । यी दुबै फिल्मले एक हजार करोड भन्दा माथिको कारोबार विश्व बजारबाट गरेका छन् । उनको यो सफलतादेखि असन्तुष्ट केही व्यक्तिहरुले उनलाई ज्यान मार्ने धम्की दिएका हुन् । साहरुख आफैले प्रहरी समक्ष यो बिषयमा जानकारी गराएका थिए । 

अब, साहरुखको साथमा ६ जना व्यक्तिगत सुरक्षाकर्मी र ५ जना पुलिसकर्मी हतियारको साथमा साहरुखको साथमा २४ घन्टा नै तैनाथ हुनेछन् । अहिलेसम्म साहरुखको सुरक्षामा उनका बडिगार्डसहित मुम्बई प्रहरीका २ जना अफिसर्स तैनाथ गरिएको थियो । 

साहरुखको सुरक्षामा खटिएका प्रहरीले अब एम–५ मेसिन गन, एके ४७ राइफल प्रयोग गर्न पाउनेछन् । यस्तै, साहरुखको घर वरिपरी पनि ४ जना प्रहरी सुरक्षाका लागि तैनाथ हुनेछन् । मुम्बई प्रहरीका अनुसार, यी सबै प्रहरी अफिसर्सको खर्च साहरुख आफैले व्यहोर्नेछन् । प्रहरीका अनुसार, जबसम्म खतरा टर्दैन तबसम्म यी सबै सुरक्षाकर्मीलाई साहरुखको सुरक्षामा २४ घन्टा नै तैनाथ गरिनेछ ।