आमिरको ‘लाहोरः १९४७’ मा सनी देवल


फिल्म ‘गदर २’ले बक्स अफिसमा ५ सय करोड कमाएपछि नायक सनी देवलको क्रेज उचाइमा पुगेको छ । केही बर्ष फिल्ममा नदेखिएका सनी देवलले ‘गदर २’बाट बक्स अफिसमा धुम मच्चाए । यो फिल्मले भारतीय बक्स अफिसमा तहल्का मच्चाउँदै गर्दा उनलाई लिएर फिल्म बनाउन चाहने निर्माताको संख्या पनि बढेको छ । 

तर, अब भने सनी देवलले अर्का नायक आमिर खानसँग सहकार्य गरेका छन् । आमिर खानको निर्माण र राजकुमार सन्तोषीको निर्देशनमा बन्न लागेको फिल्म ‘लाहोरः १९४७’मा सनी देवल मुख्य भूमिकामा देखिने पक्का भएको छ । आमिर खान प्रोडक्शनले आज यो फिल्म निर्माणको घोषणा गरेको हो । 

फिल्म ‘लाहोरः १९४७’ले पाकिस्तानसँगको सम्बन्धको कथा भन्नेछ । फिल्म ‘लाल सिंह चड्डा’ असफल भएपछि आमिरले नयाँ फिल्ममा काम गरेका छैनन् । तर, अब उनी सनी देवललाई लिएर नयाँ फिल्म निर्माणमा लागेका हुन् ।