बलिउड स्टारको आर्थिक संकट कथाः कसैले मृत्यु रोजे, कोही तङ्ग्रिए

‘देवदास’, ‘जोधा अकबर’, ‘लगान’ जस्ता फिल्मका लागि ठूला–ठूला सेट डिजाइन गर्ने कला निर्देशक नितिन चन्द्रकान्त देसाईको शव केही दिनअघि उनको स्टुडियोमा फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको आशंका गर्यो ।

५८ वर्षे नितिन कला निर्देशक मात्र थिएनन्, उनी निर्माता र निर्देशक पनि थिए । निर्देशकका रुपमा उनले फिल्म ‘अजिन्ता’ र ‘हेलो जय हिन्द’ जस्ता मराठी फिल्मको निर्देशन गरेका थिए ।
 उनले ‘दौड’, ‘हेलो जय हिन्द’ र ‘बाल गंगाधर’ मा अभिनय पनि गरेका थिए ।

कला निर्देशकका रुपमा उनले केवल फिल्मका सेट मात्र सजाएनन्, जबकी राजनेताका लागि पनि काम गरे । उनले प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर उद्धव ठाकरेसम्मका ¥यालीका लागि ठूला ठूला मञ्च तयार गरेका थिए ।

नितिनको शव उनको स्टुडियोमा भेटियो, जुन मुम्बईसँग जोडिएको रायगनको कर्जत इलाकामा छ । देसाईकी छोरी मानसी नितिन देसाईले समाचार एजेन्सी एएनआईलाई दिएको अन्तरवार्तामा उनको पिताको कम्पनी एनडी वल्र्ड आर्ट प्राइभेट लिमिटेडले एक कम्पनीबाट १ सय ८१ करोड ऋण लिएको र ८६ दशमलब ३१ करोड रुपैंयाँ फिर्ता गरेको बताएकी छिन् ।

‘ऋण कम्पनीले ६ महिनाको एडभान्स व्याज मागेको थियो, जसलाई मेरो पिताले पवईको अफिस बेचेर भुक्तान गर्नुभएको थियो’, उनले भनेकी छन् ।

वरिष्ठ पत्रकार र फिल्म समीक्षक रामचन्द श्रीनिवासन नितिन देसाईले सन् २०१६ र २०१८ मा ऋण लिएको र २०२० को जनवरीदेखि उनी ऋण तिर्न नसकिरहेको बताउछन् ।

बलिउड स्टारहरु आर्थिक तनावमा घेरिनु कुनै नयाँ कुरा होइन । यहाँ केही स्टारको जीवन आर्थिक संकटका कारण कसरी उथल–पुथल भयो प्रस्तुत गरिएको थियो ।

गुरु दत्तको समस्या

यस्तो होइन कि फिल्म उद्योगमा यस्तो कसैका साथ पहिलोपटक भएको हो ।

सफलतापछि पैसाको संकट र आफ्नो सबै गुमाएपछि एक दर्दनाक अन्त्य । केही यस्तै भएको थियो बहुमुखी प्रतिभाका धनी गुरु दत्तका साथ ।

‘प्यासा’, ‘साहब’, ‘बीवी और गुलाम’, ‘चौदहवीँ का चाँदु’ जस्ता बेजोड फिल्म दिने गुरुदत्त त्यो समयमा कंगाल भएका थिए, जब ‘कागज के फूल’ थिएटरमा आफ्नो कमाल देखाउन सकेन र धेरै ठूलो फ्लप साबित भयो ।

यो फिल्मको असफलताले उनलाई भित्रसम्म घोचेको थियो । फिल्ममा धेरै पैसा लगाएका थिए, जसकारण उनी धेरै ऋणमा परे । यसलाई लिएर उनी हताश त थिए नै । तर उनको हिम्मत त्यो समयमा अझ टुट्यो, जब उनी अन्तिम समयमा एक्लै भए ।
 

श्रीमति गीता दत्तले छोरीलाई लिएर अलग्गै बस्ने निर्णय लिएपछि गुरुदत्त र गीताबीच खटपट भएको थियो । परिवारको विखण्डनले उनलाई लाचार र एक्लो बनाइदियो । अर्कोतर्फ फिल्ममा भएको घाटाले गुरुदत्त साँच्चै विक्षिप्त भएका थिए । ३९ वर्षको उमेरमा गुरुदत्त आफ्नै बेडरुममा मृत भेटिएका थिए ।

मनमोहन देसाई
 

कैयौं सुपरहिट फिल्म दिएका मनमोहन देसाईलाई अमिताभ बच्चनलाई सुपरस्टार बनाउने महत्वपूर्ण व्यक्तिका रुपमा बलिउडले चिन्छ । उनले अमिताभका साथ ‘अमर अकबर एन्थनी’, ‘सुहाग’, ‘नसीब’, ‘देश प्रेमी’, ‘परवरिश’, ‘कुली’, ‘मर्द’, ‘गंगा जमुना सरस्वती’ र ‘तूफान’ जस्ता फिल्म गरे । यी सबै फिल्म हिट साबित भएका थिए । 

रामचन्दका अनुसार मनमोहनको जिन्दगीमा एक यस्तो समय आयो, जब उनको फिल्म फ्लप हुन थाले । जसकारण उनलाई ठूलो झट्का लाग्यो । उनलाई धेरै नोक्सान भयो । उनका छोरा केतनको पहिलो फिल्म ‘अनमोल’को असफलताले मनमोहनलाई झन् कमजोर बनायो ।

फिल्म फ्लप हुँदै गएपछि उनी भित्रबाट टुटिसकेका थिए र एक दिन आफ्नै घरको बालकोनीबाट लडेर उनको मृत्यु भयो ।

जब आर्थिक संकटले दुई–चार भए अमिताभ

अमिताभ बच्चन पनि जिन्दगीको त्यो समयबाट गुज्रिसकेका छन्, जब उनी आर्थिक संकटसँग जुधिरहेका थिए । अगणितीय धन र इज्जत कमाएपछि अमिताभले समस्याको सामना गर्नुपर्यो, जसकारण उनको सबै कुरा धितोमा गयो ।

सन् १९९९ मा अमिताभले एक अन्तरवार्तामा ‘विश्व नयाँ वर्ष २००० आउने उत्सव मनाइरहेको छ र म आफ्नो बर्बादीको उत्सव मनाइरहेको छु’ भनेका थिए । रामचन्द भन्छन् ‘अमिताभसँग न त कुनै फिल्म थियो, न त पैसा नै र उनको एबीसीएल कम्पनी पनि डुबेको थियो । यो कम्पनीका लागि उनले बजारबाट धेरै पैसा उठाएका थिए र ती सबै पैसा डुबेको थियो । जसकारण उनको अवस्था निकै खराब भएको थियो । 

उनले एक अन्तरवार्तामा आफू कसरी समस्यामा फँसेको र कैयौं मानिसको ढोकामा काम माग्न पुगेको बताएका थिए । उनले कैयौं निर्माता–निर्देशकसँग काम मागे । उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’बाट टेलिभिजनको नयाँ यात्रा शुरु गरे । यद्यपि सबैले उनको विरोध गरे । तर उनी आफ्नो निर्णयमा अडिग रहे र छोटो पर्दामा आफ्नो करियरको सुरुवात गरे ।

केबीसीको सफलताले उनको जिन्दगी विस्तारै विस्तारै पुनः ट्रयाकमा आयो ।

राज कपूरको जब सबै दाउमा लाग्यो

‘शो मेन’का रुपमा चिनिएका राज कपूर आफ्नो समयका सफल अभिनेता, निर्देशक र निर्माता रहे । उनले सफलताको स्वाद त चाखे, तर उनले असफलता र पैसाको संकट पनि झेल्नु पर्यो । 
रामचन्दका अनुसार राज कपूरको जीव्नमा पनि त्यो समय आएको थियो, जब उनले सबै धितोमा लगाएका थिए ।

फिल्म ‘मेरा नाम जोकर’ बनाउनका लागि राज कपूरले बजार र मानिसबाट अधिक रकम लिएका थिए । तर फिल्म पूर्ण रुपमा फ्लप साबित भयो । उनको सारा पैसा डुब्यो र ऋण तिर्नका लागि सबै कुरा बेच्नुपर्यो । उनले आफ्नो कैयौं मनपरेका चिजलाई धितो राख्नु परेको थियो ।

आर्थिक संकटका बीच जसो तसो पैसा जोडेर उनले फिल्म ‘बबी’ बनाए । ऋषि कपूर र डिम्पल कपाडियाको यो फिल्मले उनको अवस्था सुधार्न मद्दत गर्यो ।

गोविन्दा र ज्याकीको पीडा

८० र ९० को दशकका सुपरस्टार रहेका गोविन्दा र ज्याकी श्राफको जीवनमा पनि त्इो समय आयो, जब उनीहरुका सबै कुरा दाउमा लागेका थिए । एक अन्तरवार्तामा गोविन्दाले आफूले १६ वर्षयता धेरै पैसा उद्योग र व्यवसायमा लगाएको बताएका थिए । तर उनले करोडौंको नोक्सान व्यहोरे ।

रामचन्दका अनुसार निकै लामो समयदेखि काम नपाएका कारण गोविन्दाले संकटको सामना गर्नु परेको थियो । त्यसपछि उनले सलमान खानका साथ फिल्म ‘पार्टनर’मा काम गरे । यो फिल्म हिट भयो, जसकारण उनले पुनः उद्योगमा उभिनका लागि मौका पाए ।

त्यस्तै ज्याकी श्राफले पनि आफ्नो जीवनमा संकटको सामना गर्नु परेको थियो । उनकी पत्नी आयशाले ‘बुम’ नामक फिल्म बनाएकी थिइन् । जसमा उनको धेरै पैसा लागेको थियो र सबै डुब्यो ।

उनकी पत्नी एक अर्को फिल्म बनाइरहेकी थिइन् । गोविन्दा, ज्याकी र सलमानलाई लिएर ‘राजु राजा राम’ बन्न नपाउँदै बन्द भयो । इण्डियन एक्सप्रेसलाई दिएको एक अन्तरवार्तामा आयशाले फिल्म ‘बुम’को असफलता पछि उनी कंगाल भएकी थिइन् र पैसा तिर्नकै लागि आफ्नो घर बेचेकी थिइन् ।

‘त्यो समय हाम्रा लागि निकै खराब थियो । हाम्रो सबै कुरा गुमेको थियो । त्यो बेलामा पनि ज्याकी श्राफ मसँगै उभिएका थिए । जब टाइगरले उद्योगमा काम गर्न सुरु गरे, तब उसले मलाई त्यो बेचिएको घर फिर्ता गरेरै छोड्ने बताएको थियो । केही वर्षपछि टाइगरले त्यो घर किन्यो र हामीलाई उपहारका रुपमा दियो । हाम्रा लागि यो ठूलो कुरा थियो’, उनले भनेकी छन् ।

शाहरुख खानलाई रा–वनले रुवायो

बलिउडका किंग अफ रोमान्सका रुपमा परिचित शाहरुख खानले आफ्नो जीवनमा कैयौं उतार चढाव देखे । सफलता र असफलता शाहरुखसँग जुधिरह्यो ।
शाहरुखको सन् २०१० मा फिल्म ‘रा–वन’ फ्लप भएको थियो । फिल्ममा उनले धेरै पैसा लगाएका थिए र सबै डुब्यो । –बीबीसी