सुटिङमा नजाँदै रेखाको उपहार विवादमा

रेखा थापाले बनाउन लागेको नयाँ फिल्म ‘उपहार’ सुटिङमा जानुअघि नै विवादमा तानिएको छ । केही दिनअघि फिल्मका कलाकार फाइनल गर्दै सुटिङमा जाने तयारीमा रहेको यो फिल्म यसका कथाकार सुलक्षण भारतीका कारण विवादमा तानिएको हो ।

सुलक्षणले फेसबुकमार्फत फिल्मप्रति आपत्ति जनाएपछि फिल्मको विवाद सार्वजनिक भएको हो । सुलक्षणले फेसबुकमा उपहारको तस्वीर राख्दै ‘रेखाजी र देउजाजी दुबै प्रति गम्भीर आपत्ती प्रकट गर्न चाहन्छु । मेरो वान लाइन वा कथामाथि मेरो अनुमति र पारिश्रमिक बिना नै काम गर्न खोज्नु कतिसम्म न्यायोचित होला ?  मेरो प्रश्न ?’ भन्दै स्टाटस लेखेपछि विवाद सार्वजनिक भएको हो ।

उनको स्टाटसमा ‘उपहार’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘लाइक’ गरेपछि कमेन्टमा सुलक्षण र ज्ञानेन्द्रबीच आरोप प्रत्यारोप चलेको छ । सुलक्षणले ‘प्रश्नको जवाफ मागेको हो ज्ञानेन्द्र जी । थम्स अप होइन’ भनेर लेखेपछि ज्ञानेन्द्रले प्रतिउत्तरमा ‘यसको जवाफ कोसँग कुरा भएको हो, ऊसँग माग्ने गर–अनि पैसो लिएर कन्सेप्ट पनि डेभलप नगरी हिँड्ने तिमी हैन र भाई–तिम्रो कारणले वैशाखमा बन्ने फिल्म आजसम्म बन्न नसकेको हैन र भाई–आजसम्म तिमी सम्पर्क प्रोड्युसरसँग सम्पर्कमा नआउने पनि तिमी हैन र–तिमीले पैसो लगेर चैत्रमा स्कृप्ट बुझाउँछु भनेर आजसम्म किन प्रोड्युसरसँग सम्पर्क गरेनौ’ भन्दै जवाफ फर्काएका छन् ।

ज्ञानेन्द्रको जवाफमा सुलक्षणले ‘तपाईंहरुबाट यो कुरा आउँछ भनेर मलाई पक्का नै थियो, न त म सम्पर्कबाट बाहिर छु न त तपाईंहरु नै, मैले पुरै कथा लेखेर र त्यसमाथि पुन गरेको काम र लेखेको पुर्ण कथा तपाईंहरुलाई पठाएको इमेल मसँग पनि छ र तपाईंहरुसँग पनि छ । अब सम्पर्कमा को र किन आएन त्यो बहस को विषय होइन’ भनी लेखेका छन् ।

उनले अगाडि लेखेका छन्– ‘तपाईंहरुसँग अग्रिम भुक्तानीको रुपमा ७५००० लिएको छु । तर यहाँ कुरा पैसाको होइन मेरो कन्सेप्ट को हो यदि पैसा फिर्ता चाहनु हुन्छ भने म फिर्ता गर्न तयार छु तर मेरो कथा र कन्सेप्टमाथि म खेलबाड गरेको कसरी सहन सक्छु होला र । कि त मेरो कथा र कन्सेप्टमा काम नगर्नुस । गर्नुहुन्छ भने मेरो अधिकार मलाइ दिएर मात्र गर्नुस । कथामा वान लाइन महत्वपुर्ण हुन्छ न कि स्क्रिप्ट । स्क्रिप्ट त वान लाइनको आधारमा बनाउने हो । मेरो वान लाइन भनेको मेरो कन्सेप्ट हो । त्यसलाई त्यति सजिलै कसरी तपाईंको बनाउन सकिन्छ र ? आई निड जस्टिस नट आर्गुमेन्ट । आउनुस ज्ञानेन्द्रजी बौद्धिक सम्पत्तिको संरक्षणको बारेमा बहस गरौं ।’

जवाफमा ज्ञानेन्द्रले सम्बन्धित ठाउँमा सम्पर्क गर्न लेखेका छन् । सुलक्षणले ‘आजको समयमा सम्बन्धित ठाउँ भनेकै यो प्लेटफर्म हो । मलाई बहसबाट न्याय चाहिएको हो अदालतबाट होइन ज्ञानेन्द्र जी । म बहसको लागि तयार छु । आउनुस बहस गरौ । यो विषयको सम्बन्धित मान्छे तपाईं र रेखाजी हुन्नुहुन्छ’ लेख्दै प्रश्न गरेका छन् ।

सुलक्षणले ‘तपाईंहरु फिल्म बनाउदा जनतामा जान तयार हुनुहुन्छ बहसको लागि किन जनतासँग भाग्नु हुन्छ । आउनुस् समाजको अगाडि उभिएर कुरा गरौं । यो यस्तो ठाउँ हो जहाँबाट आउने पुस्तालाई पनि बौद्धिक सम्पत्तिको बारेमा ज्ञान दिन सकिन्छ’ भन्दै बहसमा आउन चुनौती दिएका छन् ।

फिल्म निर्माण पक्षले फिल्ममा लेखकका रुपमा अभिमन्यु निरवीलाई राखेको छ । तर सुलक्षणले आफ्नो कथा भए पनि कथामा क्रेडिट नभएपछि सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेको बुझिएको छ ।