स्टार्ट अप लगानीमा बलिउड स्टार

बलिउड अभिनेत्री आलिया भट्ट कपडाको आफ्नो ब्राण्ड ‘एड–ए–मम्मा’ सार्वजनिक गरेको तीन वर्षपछि यसलाई बेच्दैछिन् । उनको कम्पनीलाई भारतको सबैभन्दा ठूलो औद्योगिक घरानामध्येको एक रिलायन्स इन्डस्ट्रिजको रिटेल कम्पनीले किन्ने तयारी गरिरहेको छ ।

आलियाले आफ्नो ब्राण्ड बेच्दा उनले तीन सय करोड रुपैंयाँ पाउनेछिन् । कम्पनीमा सुरुवाती समयमा लगानी गर्ने भास्कर मजूमदारका अनुसार यदि आलिया र रिलायन्स ग्रुपबीच यो सम्झौता भयो भने यसले भारतका ठूला स्टारको स्टार्ट अप कम्पनीमा लगानीको सिलसिला बढ्नेछ । उनी सिधै ग्राहकसँग कारोबार गर्ने कम्पनीको मालिक बन्नेछिन् ।

बलिउड कलाकारको स्टार्ट–अपमा लगानी

आलिया बलिउडका ती स्टारमध्ये एक हुन्, जसले हालका दिनमा स्टार्ट अप कम्पनीमा लगानी गरेकी छन् ।

अभिनेत्री दीपिका पादुकोणले गत वर्ष स्किनकेयरको आफ्नो ब्राण्ड ८२ई सार्वजनिक गरेकी थिइन् । त्यही बेला दीपिकाका पति रणवीर सिंहले ब्युटी ब्राण्ड शुगर कस्मेटिक्सको हिस्सेदारी किनेका थिए । यद्यपि बलिउडमा चासो राख्नेहरु यो कुनै नयाँ चलन नरहेको बताउँछन् । 

यसको सुरुवात सन् २०१० को दशकबाट भएको थियो, जब भारतमा स्टार्ट अप कम्पनीले आफ्नो पहिचान बनाउन सुरु गरेका थिए ।

लगानीको सुरुवात

त्यो बेला अभिनेता सलमान खानले स्टार्ट अप कम्पनीमा लगानी गर्ने सुरुवात गरेका थिए । उनले सन् २०१२ मा ट्राभल पोर्ट यात्रामा एक सानो हिस्सेदारी खरिद गरेका थिए ।

तर अहिले भारत विश्वमा स्टार्ट अप कम्पनीको तेस्रो ठूलो देशका रुपमा स्थापित भइरहेको छ । त्यहीकारण यी कम्पनीमा फिल्म कलाकारको लगानीको चलन पनि बढिरहेको छ । सन् २०२२ मा भारतमै १४ फिल्मी कलाकारले १८ स्टार्ट अप कम्पनीमा पैसा लगानी गरेका थिए । जसमा अधिकांश कम्पनी सुरुवाती चरणमा थिए ।

यी कलाकारले ग्राहकसँग सिधै कारोबार गर्ने कम्पनीमा लगानी गरेका थिए । जसमा केहीले एड टेक, इ कमर्स र फूड टेक कम्पनी पर्छन् ।

सफल कारोबार

क्रलको भ्यालुएसन एड्भाइजरी सेवाका प्रबन्ध निर्देशक अविरल जैन भन्छन्, ‘आजको समयमा सेलिब्रेटी आफ्नो पहिचान केवल फिल्म स्टारका रुपमा मात्र बनाउन चाहदैनन् । उनीहरु बाठा लगानीकर्ता पनि बन्न चाहन्छन् ।’

‘आलिया भट्टले कसरी कोही सेलिब्रेटी आफ्नो स्टार हुने र फ्यानको ठूलो जमातको फाइदा उठाउदै एक इको फ्रेण्डली, स्वदेशी ब्राण्डलाई सफल कारोबारका रुपमा स्थापित गर्न सकिन्छ भन्ने देखाएकी छन्’, उनले भनेका छन् ।

भारतका फिल्मी कलाकारबीच पैसा र लगानीलाई लिएर आएको यो ठूलो परिवर्तन हो ।

पहिला धेरै कलाकारहरु खुशीका साथ आफ्नो पैसाको हिसाबकिताब र लगानीका लागि घरका सदस्यमा भरोसा राख्ने गरेको बताउँथे । यद्यपि शाहरुख खान जस्ता धेरै स्टार सफल कारोबारी पनि बने र उनीहरुले खेल कम्पनी र रेष्टुरेन्टमा लगानी गरे ।

अल्ट्रा हाई नेटवर्थ

तर, अमिताभ बच्चन र ज्याकी श्राफ जस्ता कलाकार लगानीमा डुबे र उनीहरुको कम्पनी पनि टाट पल्टियो । किनकी उनीहरुले आफ्नो सारा लगानी निकै जोखिमपूर्ण कारोबार अर्थात् फिल्म निर्माणमा लगाएका थिए ।

तर आजको दिनमा पैसाको मामलामा कलाकारहरु निकै बाठा भइसकेका छन् । उनीहरु शेयर बजार, रियल स्टेट र मूलभूत ढाँचाका पारम्परिक उद्योगमा लगानीका साथै आफ्ना केही पैसा स्टार्ट अप कम्पनी जस्ता तिब्र रुपमा बढिरहेका उद्योगमा पनि लगाइरहेका छन् ।

एपिक क्यापिटलको सहायक निर्देशक नवजोत कौरका अनुसार कलाकारहरु अलग अलग कारोबारमा पैसा लगानी गरेर आफ्नो लगानीमा विविधता ल्याउँदै जोखिम कम गरिरहेका छन् ।
जानकारका अनुसार ब्राण्ड र प्रख्यात हस्तीबीचको यो साझेदारी दुवै पक्षका लागि फाइदाजनक हुनसक्छ । स्टार्ट अप कम्पनीका लागि लगानी पाउनु र कुनै सेलिब्रेटीको प्रचार गर्नु उनीहरुको भरोसा बन्छ र उनीहरु लाखौं ग्राहकसम्म सजिलै पुग्छन् ।

ब्राण्डको पहिचान

रे ग्लोबल इन्भेस्टमेन्टका चीफ इन्भेस्टमेन्ट अफिसर बेनैफर मलन्दकर स्टार्ट अप कम्पनी कुनै प्रख्यात कलाकार वा सेलिब्रेटीको मिडियाबाट लोकप्रियताको फाइदा पनि उठाउने गरेको र आफ्नो ब्राण्डको प्रचार गर्ने गरेको बताउछन् । ‘योसँगै कोही चिनिएका हस्तीसँग जोडिँदा कुनै पनि ब्राण्डले सजिलै पहिचान पाउँछ । र, ग्राहकको नजरमा ब्राण्डको नाम भरोसायोग्य बन्छ’, उनले भनेका छन् ।

कुनै कम्पनीबाट पैसा लिनुको सट्ट त्यसमा हिस्सेदारी बन्नुको अर्थ यो हो कि जब कम्पनीको कारोबार बढ्छ, तब फिल्म स्टार पनि त्यो सफलताको हिस्सेदार बन्छन् । यसकारण फिल्मी कलाकारहरु यस्तो कारोबारमा पैसा लगाउँछन्, जो उनीहरुको निजी मूल्यसँग मेल खान्छन् ।

गडबडीको आरोप

स्टार्ट अप कम्पनीमा लगानी गर्ने फिल्म स्टारलाई कम्पनीहरुले पैसा लगानी गर्नुअघि उनीहरुको कारोबारको जोखिमलाई मात्र नहेर्न चेतावनी दिन्छन् । जबकी कुनै कम्पनीसँग जोडिनुअघि आफ्नो प्रतिष्ठानका लागि खतराको हिसाबकिताब लगाउन पनि आग्रह गर्छन् ।

कैयौं प्रख्यात स्टार्ट कम्पनीलाई गडबडीको गम्भीर आरोप पनि लागिसकेको छ । पैसा लगानीमा कमीका कारण कैयौं कम्पनीको मूल्यमा भारी गिरावट देखिएको छ ।

प्राइसवाटर हाउस कूपरको एक रिपोर्टका अनुसार जनवरीबाट जून २०२३ को बीच भारतको स्टार्टअप कम्पनीले पछिल्लो चार वर्षमा सबैभन्दा कम पैसा जुटाएका थिए ।

२९८ सम्झौताका माध्यमबाट भारतीय स्टार्ट अप कम्पनीले केवल ३ दशमलब ८ डलरको लगानी हासिल गरेको थियो । जुन डिसेम्बर २०२२ को बीच भएको लगानीभन्दा ३५ प्रतिशत कम हो ।
–बीबीसीबाट