‘दान्भी’मा एक्सन अवतारमा पूजा, कुन्साङसँग जोडी पक्का


नेपाली फिल्म क्षेत्रमा नायिका पूजा शर्मालाई दर्शकले लभ स्टोरी फिल्ममा बढी हेर्दै आएका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल लभ स्टोरी फिल्मले पूजाको परिचय बनाएका छन् । 

तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ । फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजमले काम गर्ने पक्का भएको छ । यो कुन्साङको डेब्यू फिल्म हो । 

फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यसअगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो । फिल्मको एक्सन दृश्यलाई समीक्षकदेखि दर्शकले प्रशंसा गरेका थिए । रुपेशले भने–‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’

फिल्मलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले फिल्मका लागि मिहिनेत गरिरहेको बताइन् । उनले भने–‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’ नायक कुन्साङ बोमजमले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए । 

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । 

फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।