के पुष्प खड्कालाई फिल्मको अफर छैन ?


गतबर्ष ३ वटा फिल्मले असफलता भोगेपछि नायक पुष्प खड्का फिल्म छनोटमा केही गम्भिर बनेका छन् । म्युजिक भिडियोमा निकै व्यस्त यी नायकले मेरो फिल्मसँग फिल्म साइन नगर्नुको कारण सुनाउँदै भने–‘दर्शकको फिल्म हेर्ने स्वाद फेरिएको छ । अब, हामीले पनि सोही अनुसार फिल्ममा काम गर्नुपर्छ । यसैले, मैले केही समय होल्ड गरेको हुँ ।’

पुष्पले मुकुन्द भट्टको निर्देशनमा बन्ने फिल्म ‘चोर सिपाही’मा काम गर्दैछन् । उनले भने–‘अर्को एउटा फिल्मका लागि पनि कुरा भैरहेको छ । सायद, केही समयमा नै साइन गर्छु होला ।’ नायक खड्काको गतबर्ष रिलिज भएका ‘कृष्णलीला, तिम्रो मेरो साथ र मनसँग मन’ बक्स अफिसमा नराम्रोसँग चिप्लिएका थिए ।

यसपछि फिल्म साइन गर्ने कुरामा केही गम्भिर बनेका पुष्प आफूलाई फिल्म नै अफर नआएको कुरालाई नकार्छन् । उनले भने–‘फिल्मको अफर नै नआएको भन्ने होइन । मात्र समय लगाएको हुँ ।’

नायक खड्काको हातमा म्युजिक भिडियोको भने कुनै कमी छैन । उनले, भिडियोबाट राम्रो पैसा पनि कमाइरहेका छन् । 

पुष्पलाई दर्शकले विशेषगरि, गम्भिर भूमिकामा बढी रुचाएका छन् । खड्काले अभिनय गरेको ‘मंगलम’ फिल्मबाट उनको चौतर्फी तारिफ भएको थियो । उनले यो फिल्मबाट ‘राष्ट्रिय फिल्म अवार्ड’ समेत जितेका थिए ।