अनमोल र दिनेश राउत उस्तैः धेरै फिल्मको हल्ला, गर्ने कुन हो टुंगो छैन


नेपाली फिल्म क्षेत्रमा केही कलाकार यस्ता पनि छन्, जो साइन गरेका फिल्ममा खुरुखुरु समय निकालेर काम गर्छन् । कोही निर्देशक यस्ता पनि छन् जो एउटा फिल्म साइन गर्छन् र त्यो सकेपछि अर्कोमा लाग्छन् । 

तर, नायक अनमोल केसी र निर्देशक दिनेश राउतको भने काम गर्ने शैली नै अचम्मको छ । यी दुबैको फिल्मको हल्ला धेरै हुन्छ । तर, कुनमा काम गर्छन् टुंगो नै लाग्दैन । अझ, भनौ आधा दर्जन बढी फिल्ममा काम गर्न लागेको खबर त आउँछ, तर ठ्याक्कै काम गर्ने कुन हो भन्ने टुंगो लाग्दैन । 

अब, अनमोल केसीको त चर्चा यहाँ गरिराख्न आवश्यक छैन । किनकी, अनमोलले साइन गरेका फिल्म छाडिरहेका छन् । कतिपय साइन गरेका फिल्मको छायांकन पनि कहिलेबाट सुरु हुन्छ टुंगो छैन । आधा दर्जन फिल्मको चर्चा चल्दा काम गर्ने यही फिल्म हो भन्ने टुंगो लाग्दैन । 

निर्देशक दिनेश राउतको पनि काम गर्ने तरिका अनमोल केसीको भन्दा फरक देखिएको छैन । फिल्म ‘प्रकाश’पछि दिनेशले निर्देशन गर्ने भनेर खबर सार्वजनिक भएका फिल्मको संख्या आधा दर्जन पुगिसकेको छ । तर, ठ्याक्कै यही नै गर्छन् भन्ने टुंगो छैन । 

उनलाई नायक पल शाहले २ वटा फिल्मका लागि अफर गरेको खबर सार्वजनिक भैसकेको छ । उनले, स्वर्गीय अरुण थापाको बायोपिकमा फिल्म गर्ने खबर बाहिरियो । तर, यसको चर्चा पनि यसै सेलायो । 

उनले, फिल्म ‘मेरो एउटा साथी छ २’ निर्देशन गर्ने भन्दै साइन पनि गरे । तर, पछि यो फिल्म पनि बनेन । दिनेशले स्वप्न सुमनलाई लिएर फिल्म बनाउन लागेका थिए । तर, यो फिल्म कहिले बन्छ टुंगो छैन । उनले, रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म पनि साइन गरेका छन् । यो फिल्मको काम कहिले सुरु हुन्छ पक्का छैन । 

उनले, दिपकराज गिरीको टिमसँग काम गर्न लागेको खबर पनि सार्वजनिक भएको छ । दिनेशले शहिद गंगालाल श्रेष्ठको बायोपिक निर्देशन गर्न लागेको खबर पनि चर्चामा छ । यस्तै, उनले नायकद्धय आर्यन सिग्देल र प्रदीप खड्कालाई लिएर फिल्म बनाउन लागेको खबर पनि केही समय अगाडि बाहिरिएको थियो । यसरीहेर्दा, दिनेश राउतले निर्देशन गर्ने भनिएका फिल्मको संख्या ८ पुगिसकेको छ । तर, उनले कुन फिल्ममा काम गर्छन् पक्का छैन । 

नायकमा अनमोल केसी र निर्देशकमा दिनेश राउतको काम गर्ने शैली उस्तै देखिएको छ । दुबैले कम फिल्ममा काम गर्ने तर हल्ला भने बढी गर्ने शैली अपनाएका छन् ।