आँचलको बिहे छल्न मुक्तिनाथ पुगेका थिए पल, अहिले फिल्म हलमा एकसाथ

नायक पल शाह र नायिका आँचल शर्माले आइतबार बेलुकी ललितपुरको लाबिम मलमा पुगेर एकसाथ फिल्म हेरे । आँचलले अभिनय गरेको फिल्म ‘नाई नभन्नु ल ६’ हेर्नका लागि पल हल पुगेका थिए । जेलबाट बाहिर निस्किएपछि पलले पहिलो पटक फिल्म हेरेका थिए । उसो त, पल उनका प्रिय निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘प्रसाद २’ हेर्न जाने पक्का थियो । तर, अन्तिम समयमा आँचललाई साथ दिन पलले सुदर्शनको निमन्त्रणालाई अस्विकार गरे । 

फिल्म हेरेपछि आँचलसँग एकसाथ काम गर्नेदेखि उनको अभिनयको तारिफ गरेर पल थाकेनन् । यतिसम्म कि, पलले त फिल्मको सबैभन्दा राम्रो कुरा नै आँचलको अभिनय रहेको बताए । 
एउटा कुरा के प्रष्ट भयो भने, अब आँचल र पलको सहकार्य अगाडि बढ्ने निश्चित छ । उनीहरुले म्युजिक भिडियोदेखि फिल्ममा एकसाथ काम गरे भने अनौठो नमान्दा हुन्छ । 

तर, जेलमा जानु अगाडि आँचल र पलको सम्बन्ध यति सुमधुर थिएन । आँचलको बिहे पार्टी छल्नका लागि पल नायिका पूजा शर्मासँग मुक्तीनाथ पुगेका थिए । आँचलसँग काम नै नगर्ने पलको अठोट थियो । 

तर, यतिबेला भने करिअरलाई अगाडि बढाउन यी दुइले एक अर्काको साथ खोजेको देखिन्छ । केही दिन अगाडि दिएको एक अन्तरवार्तामा आँचलले पलको कुरा नै गर्न चाहेकी थिइनन् । तर, अब भने आँचल र पल दुबै बदलिएका छन् ।