गीत नै हो ‘नाई नभन्नु ल’को ब्रान्ड, तर यसपटक चुक्यो


वैशाखको १ गते ४ वटा फिल्म रिलिज हुन लागेकाले पनि सबै फिल्मको बलियो प्रचार सामग्री आवश्यक हुन्छ । दर्शकलाई फिल्मको गतिलो प्रचार सामग्री आएन भने कलाकारले विवादित अन्तवार्ता दिएर पनि खासै अर्थ छैन । 

पहिलो सिरिजबाट नै विकासराज आचार्य निर्देशित यो फिल्म चर्चामा छ । तर, यसको क्रेज भने पहिले भन्दा खस्किएको छ । विशेष गरि, फिल्मको कथावस्तु भन्ने शैलीमा परिवर्तन नआउँदा विकास राजको हिट ब्रान्डप्रति दर्शकको चासो कम हुँदै गएको हो । 

‘नाई नभन्नु ल’को सबैभन्दा शक्तिशाली प्रचार सामग्री गीत हो । यसका गीत संगीतले बजारमा हंगामा नै मच्चाउँछन् । तर, छैटौँ सिरिजमा आइपुग्दा निर्माण पक्षमाथि उच्च आत्मविश्वास देखियो या हेलचक्राई भयो, गीतसङ्गीतमा फिल्म नराम्रोसँग चुकेको छ । 

आजसम्म यो फिल्मको तीन वटा गीत रिलिज भएका छन् । तर, तिनै वटा गीतले बजारमा कुनै पनि छाप छाड्न सकेका छैनन् । नायिका आँचल शर्माले आफ्ना श्रीमान्को पूर्व प्रेमीका चिनाउँदै हिँडेर वा झोला भित्रको मेकअपको सामान दर्शक माझ प्रदर्शन गरेर, फिल्मलाई केही पनि फाइदा हुँदैन । फिल्मको विषयवस्तु नै गतिलो भएन भने फिल्मको व्यापार गतिलो नभएको उदाहरण धेरै छन् । 

यसपटक, फिल्मबाट नयाँ नायक आर्शिवाद क्षेत्री उदाउने संभावना देखिएको छ । किनकी, उनले फिल्मको हरेक पाटोमा आफूलाई सशक्त रुपमा प्रस्तुत गरेका छन् । तर, निर्माणपक्षले फिल्मको प्रचारमा कन्जुस्याइँ गर्नु, संगीतले पनि खासै दर्शकको मन नजित्नु ले ‘नाई नभन्नु ल ६’को व्यापार कस्तो हुने हो भन्ने आकलन सुरु भएको छ ।