आज विश्व रङ्गमञ्च दिवस

विश्व रंगमञ्च दिवस आज (सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्ष्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाइन्छ ।

सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । संस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति विसङ्गतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना हुने गरेका छन् । यो दिवसलाई हरेक वर्ष रङ्गकर्मीहरूले नाटकमार्फत् मनाउँदै आएका छन् ।

यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य र महत्त्व, मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवन मा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ। यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई जानकारी गराउन पनि काम गर्दछ ।

नेपालमा पछिल्लो समयमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका १० वटा नाटकघरमा नियमितजसो नाटक मञ्चन भइरहेका छन् । उपत्यकाबाहिर पनि रंगकर्म अभियान चलिरहेका छन् । यसबाहेक विदेशका नाट्य महोत्सवमा पनि नेपाली नाटकले स्थान बनाउन थालेका छन् ।

खासगरी भूगोल र संस्कृतिमा आधारित नाटक पछिल्लो समय रंगमञ्चमा देखाइने खुराक बनेको छ । नाटक सिकेर अन्य अवसरका ढोका खोल्न चाहने युवापुस्ताको आकर्षण पनि रंगमञ्चप्रति बढेको छ ।

तर दर्शकहरुको आकर्षण अपेक्षाअनुसार नभएको अनुभव रंगकर्मीहरुले गरेका छन् । काठमाडौंका गुरुकुल, सर्वनाम, थिएटर मल, मण्डला, शिल्पी, कौसीलगायत संख्यामा वृद्धि भए पनि राम्रा कथावस्तुको अभावले गुणात्मक नाटकको कमी एकातिर छ भने अर्कातिर राम्रै नाटकको पनि प्रचार नहुँदा नाटकघरसम्म दर्शकलाई डोर्‍याउन नसकिए उनीहरुको भनाइ छ ।

रंगमञ्चमा आकर्षण बढाउन रंगकर्मीहरुले एकातिर राम्रा नाटक पस्कन मिहिनेत गर्नुपर्ने देखिन्छ भने अर्कोतिर प्रचारप्रसारको दायरा पनि फराकिलो बनाउनुपर्ने देखिन्छ ।