बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा

थापागाँउस्थित मण्डला थिएटरमा गत मंगलबारबाट नाटक ‘बुद्ध र भिखारी’ सुरु भएको छ । यो नाटकलाई स्याडो प्लेमा पपेट ‘कठपुतली’को चरित्रबाट कथा भनिएको छ । 

त्यसो त नेपाली रंगमञ्चमा यो फर्मको प्रयोग विरलै पाइन्छ । पपेटको माध्यमबाट एउटा सुन्दर संसारको परिकल्पना गर्दै भनिएको ‘बुद्ध र भिखारी’ रंगप्रेमीहरूका लागि नौलो स्वाद हुनसक्छ । 

लोककथा आफ्ना बालबालिकालाई आमाबुवाले सुनाएजस्तो लाग्ने यो नाटक ‘बुद्ध र भिखारी’ अनिल सुब्बाले परिकल्पना तथा निर्देशन गरेका हुन् । जसमा नाटकको नाट्य रुपान्तरण तथा अनुवाद चेतन आङ्थुपोले गरेका छन् । 

निर्देशक अनिल सुब्बाले नाटकमा यस्तो संसार निर्माण गरिदिन्छन् जहाँ बालक होस् या वृद्धा सबैको ध्यान तानिन्छ । झट्ट हेर्दा सरल र मनोरञ्जनात्मक लागे पनि नाटक बुद्धको गहिरो ज्ञानमा आधारित छ । त्यतिमात्रै नभई मुसामार्फत आदिवासी जनजातिहरू आफ्नै भूमिबाट कसरी लखेटिए भन्ने खालका व्यंग्य पनि केही दृश्यमा मिसाइएको छ ।

आफ्नो झुपडीमा मुसाहरूले दिएको दुख बाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको संघर्ष र रमाइलो पलहरूलाई नाटकमा देख्न सकिन्छ ।

कथामा एउटा भिखारी छ । उसको दिन भिख माग्दै बित्छ । उसले भिखबाट पाएको केही चामल बचाउँछ । उसले जम्मा गरेको चामल मुसाले खाइदिन्छ । एक दिन, भिखारीले आफूले जम्मा गरेको चामल मुसाले खाइरहेको देख्छ ।

मुसाले भिखारीलाई प्रत्येक व्यक्तिको छुट्टाछुट्टै भाग्य हुने गरेको बताउँछ । कसको भाग्य कस्तो छ भनेर कसरी थाहा पाउने त भिखारीले मुसालाई सोध्छ । भिखारीलाई मुसाले यो प्रश्न बुद्धलाई सोध्न भन्छ ।

त्यसपछि भिखारीले सुरु गर्छ, बुद्धको खोजीको यात्रा । लामो यात्रामा भिखारी एक धनी व्यक्तिको घरमा बास बस्छ । उक्त घरमा तीनजनाको परिवार छ । छोरी बोल्न सक्दिनन् । भिखारी बुद्धकोमा जान लागेको थाहा पाएपछि उनीहरूले आफ्नी छोरी उनी कसरी बोल्न सक्छिन् ? त्यो प्रश्नको जवाफ सोधिदिन भिखारीलाई भनिन्छ ।

भिखारीको यो यात्रालाई पर्दामा रोचक ढंगमा प्रस्तुत गरिएको छ । त्यसपछि भेट्छ, जादुगर । जादुगर स्वर्ग जान चाहन्छन् । तर, कसरी जाने ? जादुगरले त्यो प्रश्न पनि बुद्धलाई सोधिदिन भिखारीलाई नै आग्रह गर्छ । यात्राकै क्रममा कछुवासँग भिखारीको भेट हुन्छ । कछुवालाई उड्नु छ ? र उड्न सक्ने उपाय बुद्धबाट पाउन चाहन्छ । कछुवाले पनि आफ्नोले पनि दुःख अन्त्य कसरी गर्ने सोधिदिन भिखारीलाई आग्रह गर्छन् । 

लामो यात्रापछि भिखारी बुद्धकोमा पुग्छ । भिखारीसँग चारवटा प्रश्न हुन्छन्, बुद्धलाई सोध्न । तर, बुद्धले तीनवटा प्रश्नको मात्रै जवाफ दिने बताउँछन् । विलखबन्दमा परेको भिखारी आफ्नो प्रश्न छोडेर बाटोमा भेटिएका तीनजनाको प्रश्न सोध्छ । आफ्नोबाहेक तीनवटा प्रश्नहरूको जवाफ लिएर भिखारी पुरानै बाटो हुँदै घर फर्किन्छ । फर्किँदा बाटोमा के–के हुन्छ त्यही नै नाटक ‘बुद्ध र भिखारी’को मुख्य पक्ष हो ।

नाटकमा कलाकारहरू वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डब, नवीन चन्द्र अर्याल,सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनि मगर, मोहन राई रहनेछन् भने बाल कृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईको संगित छ ।

चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई सहकार्य तथा सहयोगीको रूपमा आर्टमाण्डु, मिडिया चुलाचुली, एम्टी स्टोमाच, बिम्ब कृएसन, जुम मिडिया रहेका छन् । जेठ ३२ गतेसम्म मञ्चन हुने यो नाटक सोमबारबाहेक हरेक दिन साँझ साढे ५ बजे सुरु हुने र अतिरिक्त शो शनिवार दिउँसो १ बजे मञ्चन हुने बताइएको छ ।