फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा


नायिका पूजा शर्माले अबदेखि आफूले गर्ने कुनै पनि फिल्ममा पारिश्रमिक नतोक्ने घोषणा गरेकी छिन् । केही बर्ष अगाडि सम्म पूजाले २० देखि २५ लाखसम्म पारिश्रमिक माग गरेको खबरहरू सार्वजनिक भएका थिए । तर, पूजाले नायिका रेखा थापाले निर्माण गर्न लागेको फिल्मका लागि आफूले पारिश्रमिक माग नगरेको बताइन् ।

उनले भनिन्–‘रेखा दिदीले मलाई तिम्रो संझौता रकम कति हो भनेर सोध्नुभएको थियो । मैले, तपाइहरु जति दिनुहुन्छ म त्यति नै लिन तयार छु भनेँ ।’

पूजाले कुनै समय आफूले चर्को पारिश्रमिक परिस्थितिका कारण लिने गरेको समेत खुलाएकी छिन् । उनले भनिन्–‘जुन कलाकारले महँगो पारिश्रमिक माग गर्छ उही नै स्टार हो भन्ने परेको थियो । पारिश्रमिक महँगो लिने कलाकारको चर्चा बढी हुन्थ्यो । त्यसैले, मैले पनि पारिश्रमिक चर्को लिएँ । तर, अहिले आएर मैले यो विषयमा बुझेकी छु । कलाकार मोटाउने, निर्माता दुब्लाउने अवस्था आउनु भएन ।’

पूजाले अबदेखि कुनै पनि निर्मातासँग आफ्नो पारिश्रमिक तोकेर नमाग्ने बताउँदै पहिला निर्माता वाच्नुपर्ने बताइन् । उनले, अरू कलाकारको विषयमा आफूलाई थाहा नभएको भन्दै आफूले भने फिल्म क्षेत्रलाई पनि बचाउनुपर्ने विषयमा गम्भीर भएर सोचेको तर्क गरेकी छिन् । 

पूजा अभिनीत २ फिल्म ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ यो बर्ष रिलिज भएका थिए । अर्को, बर्ष पूजाको रेखा थापासँगको फिल्म रिलिज हुनेछ ।