रवीन्द्रले बिर्सिए मर्यादा, मञ्चमै पवित्रालाई चुम्बन

कुनै पनि संस्थामा अध्यक्षलाई कार्यकारी प्रमुखका रुपमा लिइन्छ । त्यसकारण यो पदको आफ्नै गरिमा रहन्छ । अर्को अध्यक्ष नआउञ्जेलसम्म वर्तमान अध्यक्षले नयाँ अध्यक्षका लागि लबिङ अथवा उम्मेद्वारी घोषणा कार्यक्रममा पुग्नु आफैंमा नियम विपरित मानिन्छ ।

तर, बिहीबार राजधानीमा नेपाल चलचित्र कलाकार संघको शनिबार हुने निर्वाचनका लागि संस्थाका वर्तमान उपाध्यक्ष मोहन निरौलाले आयोजना गरेको उम्मेद्वारी घोषणा कार्यक्रममा केही फरक दृश्य देखियो । 

मोहनको उम्मेद्वारी घोषणा कार्यक्रममा संघका वर्तमान अध्यक्ष रवीन्द्र खड्का पनि उपस्थित थिए । स्रोतका अनुसार मोहनका प्रत्याशी अर्थात संघकै उपाध्यक्ष रेजिना उप्रेतीले गरेको उम्मेद्वारी घोषणा कार्यक्रममा रविन्द्रलाई नबोलाइए पनि मोहनले भने उनलाई आफ्नो कार्यक्रममा बोलाएका थिए । 

मोहनको सम्मान गर्दै कार्यक्रमस्थलमा देखिएका रविन्द्रको उपस्थितिलाई धेरैले फरक नजरअन्दाज गरेका थिए । तर त्यो भन्दा पनि फरक दृश्य त्यतिबेला देखियो, जति बेला मोहनको प्यानलबाट सह–कोषाध्यक्षमा उम्मेद्वारी दिएकी अभिनेत्री पवित्रा आचार्यलाई निर्विरोध भएको घोषणा गर्दै अबिर र खादा लगाइयो ।

पवित्रासँग अर्का कलाकार रोहित रुम्बा सह–कोषाध्यक्षको उम्मेद्वार भए पनि उनले मानवीय र साथीत्वको भावनाले उम्मेद्वारी फिर्ता लिएर पवित्रालाई निर्विरोध बन्ने वातावरण बनाइदिएका थिए । उम्मेद्वारी घोषणा कार्यक्रम सञ्चालकले रोहितलाई पनि स्टेजमा बोलाएर पवित्रा र रोहितलाई एकअर्कालाई खादा र अबिर लगाउन भनेपछि उनीहरुले पनि त्यसै गरे । 

यही मेसोमा दर्शकदिर्घामा रहेका रविन्द्रलाई कार्यक्रम सञ्चालकले स्टेजमै गएर पवित्रालाई बधाई तथा रोहितलाई धन्यवाद दिन भनेपछि रविन्द्र स्टेजमा उक्लिए । स्टेजमा पुगेर उनले रोहित र पवित्रालाई अंकमाल गरे । तर उनको अंकमालले सीमा नै नाघ्यो किनकी उनले अंकमालसँगै पवित्रा र रोहितलाई चुम्बन नै गरे । उनको यो गतिविधि देखिरहेका दर्शकदिर्घा तथा स्टेजका व्यक्तिहरुले तालीले स्वागत गरे पनि उनको शैलीको भित्री आलोचना उस्तै भयो । तर कसैले मुख खोल्न सकेनन् ।

सार्वजनिक कार्यक्रममा आफ्नै कार्यसमितिकी सदस्यलाई बधाई दिने नाममा चुम्बन नै गर्नुले अध्यक्षको पदको गरिमाको धज्जी र अवमूल्यन गरेको प्रष्ट बुझ्न सकिन्छ । आवेशको निर्णय कतिको लागि फाइदाजनक होला कतिलाई बेफाइदा । तर, रविन्द्रको आवेशले न त उनलाई नै फाइदा पुग्छ, न त संस्थाको गरिमालाई नै ।

जेजस्तो भए पनि वर्तमान अध्यक्षले जोसँग आत्मियता देखाए पनि त्यसको सीमालाई सम्झिएर नजिर बसाल्नु नै राम्रो हुन्छ ।

Photo by - Saroz Moktan/ Merofilm.com