साम्राज्ञीलाई व्यङ्ग्य गरेका शोभित अनमोलबारे किन मौन ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ असफल भएपछि निर्देशक शोभित बस्नेतले स्टाटस लेख्दै १५ लाख लिने नायिकाले एक शोज त दर्शक हाउसफूल गराउन सक्न पर्यो नी भन्दै कटाक्ष गरे । उनै, साम्राज्ञी अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ पनि फ्लप भएपछि शोभितले अब १८ लाख होइन १ लाख ८० हजार लिदा हुन्छ भन्दै कटाक्ष गरे । 

साम्राज्ञीको फिल्म असफल हुँदा निरन्तर कटाक्ष गरेका शोभित नायक अनमोल केसीको ‘छड्के २’ असफल हुँदा भने पुरै मौन छन् । शोभित नायक भुवन केसी निकट मानिन्छन् । यसैले पनि उनले अनमोलको बारेमा टिप्पणी गरिहाल्न सक्दैनन् । 

तर, हालै मात्र मिडियासँग कुरा गर्दै शोभितले यसको जवाफ दिएका छन् । उनले भनेका छन्–‘तिम्रो मेरो साथको त बक्स अफिस कलेक्शन केही कुरा गर्न लायक थियो र मैले भनेँ । तर, छड्के २ को त कुरा गर्न पनि लायक छैन । यसैले, मैले यो बिषयमा केही पनि नबोलेको हुँ ।’

शोभितले ‘छड्के २’को बक्स अफिस कुरा गर्न लायक नभएकाले कुरा नगरेको बताएपनि अनमोल केसीको पारिश्रमिकको बारेमा भने केही पनि बोलेका छैनन् । के, शोभितले अब अनमोल केसीको नयाँ पारिश्रमिक तोक्ने हिम्मत गर्लान् त ?