रिमेकलाई बलिउडका दर्शकको बाईबाई

बलिउडमा रिमेक फिल्म बनाउने प्रचलन खुबै बढेको छ । दक्षिण भारतीय फिल्म या केही हलिउड फिल्मको रिमेक गर्दै बलिउड फिल्म निर्माणको गति ह्वात्तै बढ्यो ।

‘कविर सिंह’ले बक्स अफिसमा बम्पर कमाई गरेपछि त बलिउड मेकर अझै हौसिए । तर, कोरोना महामारीपछि भने बलिउडका दर्शकले रिमेकलाई रुचाउन छाडेका छन् । जसको प्रत्यक्ष असर, बलिउड फिल्मको व्यापारमा भएको छ ।

फिल्म ‘जर्सी’ बक्स अफिसमा नराम्रोसँग पछारियो । साहिद कपुरको यो फिल्म साउथ फिल्म ‘जर्सी’कै रिमेक हो । फिल्म ‘विक्रम वेधा’ले पनि खासै चमत्कार गर्न सकेन । ऋतिक रोशन र सैफअली खान जस्ता नायक हुँदा पनि यो फिल्मको व्यापार जोगाउन सकेनन् । फिल्म ‘लाल सिंह चड्डा’ पनि चलेन ।

आमिर खान र करिना कपुर जस्ता कलाकारको यो फिल्म एक हलिउड फिल्मको रिमेक हो । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘शहजादा’को हालत पनि कमजोर देखिएको छ । यो फिल्मले भारतीय बक्स अफिसमा ३ दिनमा २० करोडको व्यापार पनि गरेन । यसैले, फिल्मले बक्स अफिसमा लाइभ टाइम ४० करोड पनि कटाउन मुस्किल पर्ने देखिएको छ ।

कार्तिक आर्यन र कृति सेनन जस्ता कलाकारले पनि यो फिल्मलाई जोगाउन सकेनन् । यो फिल्म पनि साउथ स्टार अल्लु अर्जुनको एक फिल्मको रिमेक हो । अब, अजय देवगण अभिनीत फिल्म ‘भोला’ रिलिजको तयारीमा छ । यो पनि साउथ फिल्मकै रिमेक हो ।

बलिउडका दर्शकले ओर्जिनल कथामा फिल्म बनाउन मेकरलाई सुझाव दिइरहेका छन् । जनवरी २५ मा रिलिज भएको फिल्म ‘पठान’को बम्पर व्यापारले पनि दर्शक आफ्नै कथा हेर्न चाहिरहेका छन् भन्ने पुष्टि हुन्छ ।