‘चलचित्र’ निर्माणको घोषणा, विपिन र अर्पण मुख्य भूमिकामा

कलाकारद्वय विपिन कार्की र अर्पण थापा निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।

यो फिल्ममा अभिनेता विपिन र अर्पण मुख्य भूमिकामा देखिनेछन् । फिल्म ‘हरि’ फेम्ड निर्देशक केसी र गुरुङले निर्देशन गर्नलागेको नयाँ कमेडी फिल्म ‘चलचित्र’मा यी दुई अभिनेताहरु अनुबन्धित भएका हुन् । निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा शुक्रबार प्रमुख कलाकारमा कार्की र थापाले कागजी सम्झैता गरेका छन् ।

मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको यो फिल्म आगामी चैतदेखि छायांकनमा जाने तयारी रहेको निर्माता निकुनले जानकारी दिएका छन् । अहिले प्रि–प्रोडक्सनमा काम भइरहेकाले विपिन र अर्पणबाहेकका अन्य ८० पात्र अडिसनबाट छनौट गरिने बताइएको छ ।

नेपालमा फिल्म बनाउन फिल्ममेकरले गर्ने संघर्षको कथावस्तुमा बन्न लागेको यो फिल्मलाई निर्देशकद्वयले नै लेखेका हुन् । रेजोनेटिङ पिक्चर्ससँगको सहकार्यमा मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा फिल्म बन्नेछ ।

निर्देशकद्वयको पाँच वर्षअघि सन् २०१८ मा रिलिज भएको फिल्म ‘हरि’ व्यवसायिक रुपमा असफल भए पनि समीक्षकले रुचाएका थिए । कथा भन्ने भिन्न शैलीको कारण यी दुई निर्देशक चर्चित पनि छन् । विपिनको मुख्य भूमिका ‘हरि’ विपिनको सम्झनलायक फिल्म मानिन्छ ।