नाटक ‘चोरको स्वर’ मण्डला थिएटरमा जेठ २० देखि मञ्चन हुँदै

नाटक ‘चोरको स्वर’ मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।

आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक “चोरको स्वर” मा बिशेष गरि लिम्बू समुदायमा हुने भागी विवाहमा आधारित भएर प्रस्तुत गरिएको छ । कोही केटाले केटि भगाई सकेपछि केटा पक्षबाट “हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर, खुशी साथ राखेको छ” भनी केटा पक्षका भद्र भलाद्मीहरु विशेष रीत सहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई “चोरको स्वर” भनिन्छ ।

माईती पक्षले रीत अर्थात चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रितिरिवाज अनुसार विवाहको प्रसङ्ग अघि बढ्छ, त्यस प्रचलनलाई म्युजिकल फिल्ममार्फत कथा भन्दै आइरहेको आर्टमान्डुले यसपटक फरक माध्यममार्फत कथा भन्ने तयारी थालेको हो।

यो नाटक आगामी जेठ २० देखि गते देखि असार १५ गते सम्म थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुने छ । नवीन चौहानको कथालाई अनिल सुुब्बा र अन्वेश राई थुलुुङले परिकल्पना तथा निर्देशन गर्नेछन् ।

उक्त नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनील तामाङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

नाटक सोमबारबाहेक हरेक दिन साँझ ५ बजेबाट नाटक मञ्चन हुने निर्माण टिमले जनाएको छ । अतिरिक्त शो भने शनिबार दिउँसो १ बजे पनि हुने छ ।