मिस्टर एण्ड मिस थारु २०२१ को फिनाले चैत १३ गते चितवनमा हुँदै

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फिनाले चैत १३ गते चितवनमा हुने भएको छ ।

वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको फाइनल प्रतिस्पर्धा खैरहनी नगरपालिकास्थित डिज्नी पार्क रिसोर्टमा हुने आयोजकले बुधबार पार्कमै पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

जह इन्टरटेनमेन्टका निर्देशक रुपेश चौधरीले फाइनल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाए । यसअिघ देशका विभिन्न सहरहरुमा अडिसन भएको थियो । अडिसनबाट फाइनल प्रतियोगिताका लागि मिस्टर थारुतर्फ १५ र मिस थारुतर्फ १७ जना प्रतियोगिहरु छनौट भएका छन् । उनीहरु सबै चितवन आइसकेको चौधरीले जनाए ।

फाइनलमा प्रतियोगीहरुको तीन सिक्वेन्समा प्रतिभा प्रस्तुत गरिने छ भने कार्यक्रम अवधिमा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने वाईएसी इभेन्ट्सका इभेन्ट्स म्यानेजर चौधरीले जानकारी दिए । प्रतियोगीहरुलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको पहिरनमा समेत स्टेजमा उतारिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य निर्णायकमा मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, निर्णायकहरुमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, कलाकार, निर्देशक तथा लेखक प्रदीप कुमार चौधरी, गायक अलमोडा राना उप्रेती, कस्टुम डिजाइनर सुजनररत्न परियार रहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।

यस प्रतियोगिताको विजेता भोटिङ र निर्णायकहरुको निर्णयको आधारमा गरिने उनले बताए । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’ समेत प्राप्त गर्ने वाइएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले बताए ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

फाइनलका प्रतियोगिहरुलाई काठमाडौंमा करिव एक महिनासम्म विभिन्न किसिमका प्रशिक्षणहरु प्रदान गरिएको चौधरीको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै मिस्टर थारु २०१८ रविन चौधरीले यस प्रतियोगिताले युवायुवतीहरुको व्यक्तित्वमा विकासमा टेवा पुर्याउनुको साथै थारु संस्कृति संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए । यस्तै मिस थारु २०१८ आकृति चौधरीले पनि यस प्रतियोगिताले थारु युवायुवतीहरुलाई अगाडि बढ्नका लागि धेरै सघाउ पर्याएको बताइन् ।

यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएका थिए भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

नेपालको जनसंख्यामध्ये चौथो स्थानमा रहेको थारु समुदाय विशेष गरी देशको तराई क्षेत्रमा आदिमकालदेखि स्थायी रुपमा बसोबास गर्दै आइरहेको छ । यही समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरुले सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् ।