कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरुको कर्तव्य भएको समेत चर्चा गर्नुभयो ।
उहाँले स्रष्टाहरुलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रसंसनीय र प्रेरणादायी समेत रहेको बताउनुभयो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली शैलीको सङ्गीत सिर्जनामा सिद्धहस्त नातिकाजीले नेपाली आधुनिक सङ्गीतको जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गर्नुभयो ।
उहाँले नातिकाजीको योगदानलाई स्मरणीय बनाउन सडकको नामाकरणको माग राख्नुहुँदै काठमाडौँ महानगरपालिकाले नातिकाजीको नाममा कोष स्थापना गर्ने वचन दिएको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको समेत उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति भण्डारीले बरिष्ठ वाद्यवादक नोर्बु छिरिङ्ग लामालाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७६ प्रदान गर्नुभयो । यस्तै, बालकृष्ण सजीव, सुरेन्द्र राना, राजु अग्रवाल, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुणमणि देवकोटा, महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७६ प्रदान गरिएको छ ।
यसैगरी, प्राश्ना शाक्य, चेतन सापकोटा, दयाराम पाण्डे र सुगम पोख्रेललाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७६ प्रदान गरिएको छ । त्यस्तै, मेलिना राई, वसन्त सापकोटा, सुरजकुमार थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६, जीवित जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार २०७६, सञ्चारकर्मीद्वय विदुर गिरी र श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७६ प्रदान गरिएको छ । यस्तै, विकासनाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७६ र बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार २०७६ प्रदान गरिएको छ । कार्यक्रममा जारा रित प्रसाई, सुगम पोख्रेल, प्राश्ना शाक्य, मेलिना राई र सुरजकुमार थापाले नातिकाजीका लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।
गोरखापत्र दैनिक बाट
प्रतिक्रिया