नेसनल एक्टिङ कम्पिटिसनकी विजेता अनुले अझै पाइनन् पुरस्कार

तीन वर्ष अगाडि नेपालमा देशकै ठुलो रियालिटी सो नेसनल एक्टिङ कम्पिटिसन भयो । सोको घोषणाका बखत विजेताले दुई लाख पचास हजार बराबरको विभिन्न उपहार, चलचित्र तथा व्यवसायिक विज्ञापनमा अभिनय अवसर उपहारका रुपमा प्राप्त गर्ने बताइएको थियो । तर, सो कि विजेता अनु थापाले तीन वर्ष बितिसक्दा पनि आयोजकबाट ट्रफी बाहेक केही नपाएको गुनासो गरेकी छिन् । उनले मेरो फिल्मसँग कुरा गर्दै आयोजकले आफूलाई वाचा गरे अनुरुप नगद मात्र हैन अन्य अवसर पनि उपलब्ध नगराएको गुनासो गरेकी छिन् । ‘ ट्रफी दिनु भएको थियो । त्यो बाहेक केही पाएको छैन । अब त उहाँहरुले के के दिन्छु भन्नु भएको थियो त्यही नै बिर्सिसकें’ अनुले व्यंग्य मिश्रित स्वरमा भनिन् ।

अनु तीन वर्षअघि फेसबुकमा आएको सूचना पछ्याउँदै नेसनल एक्टिङ कम्पिटिसनमा भाग लिन पुगेकी थिइन् । दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र अभिनेता अनुप बराल निर्णायक रहेको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै अनु विजेता बनेकी थिइन् । उनलाई उसबेला नगदभन्दा पनि यसले आफ्ना लागि अवसरको ढोका खोल्ला भन्ने सोचेकी थिइन् । ‘पैसाभन्दा पनि मेरो ध्यान केही सिक्न पाइन्छ कि भन्ने कुरामा थियो । यसले मेरा लागि प्लेटफर्म तयार गर्ला भन्ने अपेक्षा पनि थियो तर केही भएन,’ उनले दुखेसो गर्दै भनिन्, ‘विजेता भएको भोलिपल्टदेखि उहाँहरुले चटक्कै बिर्सनु भो ’ अनुले भनिन् ।

अनुले अभिनय गर्ने सपना पछ्याउँदै ‘चिनी कम रङ कडा’ मा अभिनय गर्ने अवसर पाइन् जुन फिल्म अमेजन प्राइम  भिडियोमा रिलिज भएको छ । तर, यो फिल्म उनले यस नेसनल कम्पिटिसनको आयोजकले दिलाएको भने होइन । उनले बकाइदा अडिसन दिएर यो फिल्ममा छनोट भएकी हुन् ।  सुरु गर्ने बेलामा प्रतिस्पर्धी लोभ्याउन ठूला ठूला पुरस्कार राशिको घोषणा गर्ने तर कार्यक्रम सकिएपछि आयोजक बेपत्ता हुने रियालिटी सोको यथार्थ रहेको छ । अभिनयको माध्यमबाट उत्कृष्ट प्रतिभा छान्ने यो देशकै पहिलो रियालिटी सो भनिएको नेसनल एक्टिङ कम्पिटिसनले पनि रियालिटी सोको सोही चरित्रलाई प्रमाणित गरेको छ ।