‘एक्टर–टेक १’को मुद्दा फिर्ता, अब छैन रिलिजमा कुनै रोकावट

काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर–टेक १’को नाममा दायर भएको मुद्दा फिर्ता भएको उल्लेख गरेको छ । 

जिल्ला अदालतले नेपाल चलचित्र संघलाई यो विषयमा जानकारी गराउँदै मुद्दा फिर्ता भएको उल्लेख गरेको हो । योसँगै अब हलहरुलाई फिल्म रिलिजका लागि कुनै रोकावट रहने छैन । 

हलहरुले, मुद्दा फिर्ताको प्रक्रिया पुरा नभएसम्म फिल्म नचलाउने बताएपछि आज बिहानीको शोजमा यो फिल्म रिलिज हुन सकेको थिएन । तर, अब मुद्दा फिर्ता भएको जानकारी अदालतबाट नै आएपछि फिल्म विना अवरोध रिलिज हुनेछ । मध्यान्ह १२ बजेबाट अधिकांश हलले बूकिङ खुलाइसकेका छन् । 

राजन भुसालको निर्देशनमा तयार भएको यो फिल्मलाई थमन कुमार भण्डारी र मोती कार्की मिलेर बनाएको यो फिल्ममा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारहरूको अभिनय छ ।