घरको फिल्ममा काम गर्दा सुपुष्पालाई प्रश्नै प्रश्न

नायिका सुपुष्पा भट्टले अभिनय गरेको फिल्म ‘फेरि रेशम फिलिली’ फागुनको १४ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मलाई सुपुष्पाका श्रीमान् रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् । 

उसो त सुपुष्पाले यसअघि पनि केही फिल्ममा काम नगरेकी होइनन् । तर, उनलाई दर्शकले मुख्य नायिकाको रुपमा हेर्न पाएका थिएनन् । यसपटक भने उनी फिल्ममा सोलो नायिकाको रुपमा देखिदैछिन् । 

फिल्म ‘रेशम फिलिली’मा नायिका मेनुका प्रधानको अभिनय  थियो । यसपटक, सुपुष्पा भित्रिएकी छिन् । फिल्मको गीत रिलिज कार्यक्रममा सुपुष्पालाई घरको फिल्म भएर भित्रिनु भयो कि कथाले मागेर भन्ने प्रश्न सोझियो ।

जसमा सुपुष्पाले भनिन्–‘मलाई सोलो नायिकाको रुपमा पहिले पनि थुप्रै फिल्ममा अफर आएको थियो । मैले विविध कारणले गरिनँ । मेरो श्रीमान् पनि फिल्म मेकिङ बुझेको मानिस हो । यसैले, उहाँले मलाई श्रीमती भएकै कारण फिल्ममा लिनुहुन्न । फिल्मको कथामा म फिट भएपछि अनुबन्धित भएकी हुँ । मैले अडिसन पनि दिएकी छु ।’

फिल्मको यो गीतलाई यसको निर्माणपक्षले अन्तिम अस्त्रको रुपमा प्रयोग गरेको टिप्पणी पनि भइरहेको छ । किनकी, यसअघि सार्वजनिक पहिलो गीत र पोस्टरले दर्शकको ध्यान तान्न सकेको थिएन । सुपुष्पा यो कुरा पनि स्विकार गर्न तयार देखिइनन् । उनले, फिल्मका हरेक प्रचार सामाग्री अस्त्र हुने तर्क गरिन् । आफूहरूले मात्र नभएर अन्य मेकरले पनि हरेक प्रचार सामग्रीलाई अस्त्रकै रुपमा प्रयोग गर्ने उनको भनाई थियो । 

यो मितिमा ‘मायाबी र लाज शरणम्’ पनि रिलिजमा आउँदैछन् । ‘फेरि रेशम फिलिली’ दुई फिल्म पछि मात्र यो मिति तय गरेको हो । फिल्मका निर्माता कँडेलले आफूहरूले छायांकन अगाडि नै फागुन १४ लाई पक्का गरेपनि बाहिर सार्वजनिक नगरेको बताए । फिल्मको छायांकन सकिएपछि मात्र रिलिज मिति सार्वजनिक गर्ने योजना अनुरूप आफूहरू अगाडि बढेको उनको भनाई थियो ।