उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

जिल्ला अदालत काठमाडौंले भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टर–टेक १’ रिलिज तत्कालका लागि स्थगित गर्न आदेश दिएको छ । फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले दिएको उजुरीको आधारमा आज यस्तो आदेश आएको हो । माघको २२ गते दुबै पक्षलाई छलफलका लागि बोलाइएको छ । 

नाम एउटै भएको भन्दै ‘एक्टर’का निर्माताले दिएको उजुरीको आधारमा यो अन्तरिम आदेश आएको हो । 

तर, नेपाली फिल्म क्षेत्रमा नामको अगाडि पछाडि कुनै नै कुनै शब्द झुन्ड्याएर फिल्महरू बनेको र रिलिज भएको उदाहरण छ । 

‘मेरो हजुर’को अगाडि ‘ए मेरो हजुर’ राखेर फिल्म बनेर रिलिज भइसकेको छ । यस्तै, परशुराम’को अगाडि ‘जय परशुराम’ नाम राखेर पनि फिल्म बनिसकेको छ । यो समयमा पनि दुबै पक्षका निर्माताबीच बादबिबाद भएको थियो । तर, दुबै फिल्म हलमा लागेका थिए । 

‘भोले र जय भोले, डन र मिस्टर डन, अर्जुन र अर्जुन देव, भगवान र भगवान भरोसा, डोरी र मायाको डोरी, कर्म र कर्म रेखा, मालती र मालतीको भट्टी, वर्षात् र मायाको वर्षात्, टक्कर र टक्कर दुई मुटुको, जंगल र जंगल लभ, सिन्दुर र सिउँदोको सिन्दुर, माया र माया कस्तो माया, बादल र बादल पारी, लुट र लुट कम्पनी ’ नाममा फिल्म बनेर रिलिज भइसकेका छन् । तर, यसपटक ‘एक्टर र एक्टर टेक वन’को विवाद भने अदालतसम्म पुग्यो । 

यसरी, कुनै नामका पछाडि वा अगाडि केही शब्द झुन्ड्याएर फिल्म रिलिज हुनु नयाँ कुरा हुँदै होइन । तर, यसपटक अदालतको फैसला आएपछि ‘एक्टर टेक वन’को रिलिज तत्कालका लागि रोकिएको छ ।