‘सारङ्गी’को पार्टीमा प्रकाश सपुत गायब, फुटको असर प्रष्टै देखियो

आइतबार आयोजना भएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’को सफलता पार्टीमा केही फिल्मीकर्मीहरु पुगे । फिल्म क्षेत्रका अधिकांश मानिसहरूलाई निम्तो गरिएको कार्यक्रममा चिनिएका अनुहार थोरै देखिए । 

तर, फिल्मसँग जोडिएका केही अनुहार नदेखिँदा धेरैले खल्लो माने । यो कार्यक्रममा फिल्मका मुख्य कलाकार प्रकाश सपुत नै देखा परेनन् । उनी, फिल्म ‘सोल्टिनी’को छायांकनमा छन् ।

तर, ऐतिहासिक रेकर्ड राखेको फिल्मको कार्यक्रममा उनी उपस्थित नहुनु आफैंमा दुखद कुरा हो । फिल्म ‘महाभोज’को छायांकनमा रहेकी नायिका अञ्जना बराइली भने सफलता पार्टीमा पुगेकी थिइन् । 

कार्यक्रममा सेभेन सिज इन्टरटेन्मेन्टको फुटको असर प्रत्यक्ष देखियो । फिल्म रिलिज भइरहेको समयमा यो टिम फुटेको थियो । टिम फुटेपछि निर्माता विनोद पौडेलले ‘सेभेन सिज सिनेमा’को घोषणा गरेका हुन् । कार्यक्रममा प्याट्रिक सुवेदी र रमेश ढकालको नाम नै लिइएन । कार्यक्रममा पनि उनीहरू उपस्थित भएनन् । स्टेजमा विनोदलाई रमेश चौलागाईंले साथ दिएका थिए । उनी, फिल्म ‘रोल नम्बर १’मा कार्यकारी निर्माताको रुपमा देखिदैछन् । 

यो फिल्मसँग बाँसुरी फिल्मस् पनि जोडिएको थियो । बाँसुरी फिल्म्सका प्रमुख रामबाबु गुरुङ पनि यो कार्यक्रममा पुगेनन् । यस्तै, काठमाडौंका वितरक प्रचण्डमान श्रेष्ठ पनि हलमा देखिएनन् । 
कार्यक्रममा मनोज राठी र उज्ज्वल पौडेल भने पुगेका थिए । ‘पुर्ण बहादुरको सारङ्गी २’को घोषणा गरिए पनि यो फिल्मको निर्देशक भने खुलाइएको छैन ।

यसरीहेर्दा, ‘पुर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल यो फिल्ममा नहुने देखिन्छ । अब, यो फिल्मलाई कसले निर्देशन गर्लान् दर्शकलाई प्रतीक्षा हुनेछ ।