फिल्म क्षेत्रमा नयाँ नायिकाः उत्साहित अनुहार, चुनौतीको पहाड

नायक विराज भट्टले आफ्नो फिल्म ‘१२ गाउँ’का लागि मोडल सनिसा भट्टराईलाई फिल्म क्षेत्रमा भित्र्याउँदैछन् । यो फिल्ममा सनिसा विराजकी प्रेमिकाको रुपमा फिल्ममा देखिदैछिन् । कतिपयलाई सनिशाले किन विराजको जोडीको रुपमा काम गर्न तयार भइन् भन्ने पनि लाग्न सक्छ ।

तर, विराजले पनि भूमिका अनुसार नै सनिशालाई आफ्नो जोडी बनाएको हुनुपर्छ । सनिसा फिल्ममा काम गर्न पाउँदा उत्साहित छिन् । केही म्युजिक भिडियोमा काम गरेर विराजसँग फिल्ममा काम गर्नु पाउनु उनका लागि ठूलो अवसर हो । यो अवसरलाई राम्रोसँग सदुपयोग गर्न सकेको खण्डमा सनिशाले फिल्म क्षेत्रमा राम्रै स्थान बनाउन सक्छिन् । 

फिल्म क्षेत्रले नयाँ अनुहारको आवश्यकता महशुश गरिरहेको छ । यसैले, नयाँ नयाँ अनुहारहरूलाई आगमन गर्नका लागि मेकरहरु लागिपरेका पनि छन् । तर, सबै नयाँ कलाकारहरूले यो क्षेत्रमा पकड जमाउन सक्छन् भन्ने पनि होइन । 

सनिशाले पहिलो फिल्ममै मुख्य नायिकाको भूमिका पाइरहँदा केही नयाँ नायिकाहरू भने सह–नायिकाको रुपमा फिल्म क्षेत्रमा डेब्यू गरिरहेका छन् । गरिमा शर्माले ‘लण्डन टू पेरिस र ह्रस्व दीर्घ’मा सह–नायिकाको रुपमा काम गरिरहेकी छिन् । तर, अब मुख्य नायिकाको अफर नआएको खण्डमा फिल्मको काम स्विकार नगर्ने मुडमा गरिमा छिन् । 

उसो त मिस पबीले पनि फिल्म त साइन गरिन् । तर, उनले साइन गरेको ‘राजमहल’ कहिले बन्छ टुंगो छैन । 

यता, मुख्य नायिकाको भूमिकामा साइन गरेको फिल्म ‘सञ्जिवनी’को निर्माणमा कुनै सुरसार नभएपछि कुसुम शर्माले सह–नायिकाको रुपमा फिल्म ‘वर एण्ड बधु’मा काम गरिरहेकी छिन् । यो फिल्ममा राम्रो गरेको खण्डमा उनी पनि फिल्म क्षेत्रमा अगाडि बढ्न सक्छिन् । 

नीति शाहले मुख्य नायिकाको रुपमा काम गरेको फिल्म ‘खजुरे ब्रो’ रिलिजको तयारीमा छ । तर, यो फिल्मको प्रचार सामाग्रीमा नीतिलाई उचित स्थान नमिलेको भन्दै आलोचना पनि भइरहेको छ । 

फिल्म क्षेत्रमा मुख्य देखि सह–नायिकाको रुपमा केही अनुहारहरूको आगमन सुखद कुरा हो । फिल्ममा मुख्य वा सह कुन भूमिकामा काम गरेर कलाकारको डेब्यू भयो भन्ने कुरा गौण हो । मुख्य कुरा, कस्तो काम गर्न सक्यो भने हो । यदि, यसमा यी नयाँ नायिकाहरू सफल भएको खण्डमा फिल्म क्षेत्रले फ्रेस अनुहार पाउनेछ । 

एक दशकपछि कलाकारहरूको अनुहारमा समेत दर्शकले परिवर्तन चाहन्छन् भनिन्छ । यसैले, वि.सं २०८१ साल नेपाली फिल्मका लागि नयाँ कलाकारहरूको आगमनको बर्ष बन्न सक्छ ।