मेरो कसैसँग इगो छैनः पूजा शर्मा

नायिका पूजा शर्माले आफ्नो कुनै पनि कलाकारसँग इगो नभएको बताएकी छिन् । आफ्नो जन्मदिन मनाउने क्रममा सोमबार मेरो फिल्मसँग कुरा गर्दै पूजाले आफूले इगोमा आएर ‘दान्भी’को प्रदर्शन मिति तय नगरेको बताइन् ।

उनले भनिन्–‘मैले बुद्ध भगवानको पुजा गरेर नै दान्भीको छायांकन सुरु गरेकी थिएँ । यसैले, रिलिज पनि बुद्ध जयन्ती कै दिनमा गर्ने योजना बनाएका थियौं । तर, अर्को फिल्म पनि आएपछि फिल्मलाई जुधाएर निर्मातालाई कमजोर बनाउन मन लागेन । यसैले, हामीले फिल्मको प्रदर्शन मिति सार्ने निर्णय गर्यौ ।’

पूजाले फिल्म जुधाउन भन्दा पनि दर्शकको लागि बनाउनु पर्ने बताइन् । भनिन्–‘फिल्म त दर्शकको लागि बनाउने हो नी । धेरै भन्दा धेरै दर्शक समक्ष फिल्म पुगोस् भन्ने चाहना हुन्छ । यसैले, हामीले धेरै भन्दा धेरै समक्ष फिल्म पुर्याउनका लागि नै नयाँ मितिमा फिल्म रिलिज गर्ने निर्णय गरेका हौं ।’

अब, फिल्म ‘दान्भी’ असारको ७ गतेबाट रिलिजमा आउने पक्का भएको छ । पूजाले भनिन्–‘मेरो अनमोल केसीसँग इगो छैन । मानिसको भित्री कारण बुझ्न आवश्यक छ । यसैले, भित्री कुरा नबुझी झुटो कुरा नफैलाउन आग्रह गर्न चाहन्छु ।’

पुजाले फिल्म ‘रावायण’बाट नायक पल शाहले दर्शकलाई छक्क पार्ने तर्क गरिन् । उनले भनिन्–‘रावायण जस्तो फिल्म पनि बन्दो रहेछ भनेर दर्शकले भन्नु हुनेछ । पल शाहले निकै राम्रो काम गरिरहेका छन् । यो फिल्मबाट म निकै आशावादी छु ।’

सुदर्शन थापाको  निर्देशनमा तयार भइरहेको यो फिल्ममा पूजा शर्माको लगानी छ । यो फिल्म भने भदौको २१ गतेबाट रिलिजमा आउँदैछ ।