‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?

यो बर्ष आयोजना भएको ‘मिस यूनिभर्स २०२३’को उपाधि जित्ने नेपालको सपनामा धक्का लागेको छ । नेपाली प्रतिस्पर्धी जेन दीपिका गारेट अन्तिम २० भन्दा माथि उक्लिन सकिनन् । 

नेपाली प्रतिस्पर्धीले उपाधि जित्न नसके पनि उनको चर्चा भने अन्तराष्ट्रिय मिडियादेखि नेपालमा पनि खुबै भइरहेको छ । यसको मुख्य कारण हो, दीपिकाको ‘प्लस साइज’ फिगर । उनलाई अन्तर्राष्ट्रिय मिडियाले ‘प्लस साइज मोडल’को रुपमा चित्रित गरिरहेका छन् । 

यतिमात्र होइन, उनको चर्चा भइरहँदा आलोचना पनि भइरहेको छ । दीपिकाले सौन्दर्यको मापदण्डलाई नै तोडेर यो प्रतिस्पर्धामा भाग लिएको भन्दै समाचार सार्वजनिक भइरहेका छन् । तर, नेपाली सेलिब्रिटीदेखि सामाजिक संजाल प्रयोगकर्ताले भने दीपिकाको प्रशंसा गरिरहेका छन् । 

दीपिकाले यो प्रतिस्पर्धाको सुरुवातमा भने निकै चर्चा पाएकी थिइन् । उनले जति बेला नेशनल कस्ट्युमदेखि स्वीमसुट राउन्डमा आफूलाई उभ्याइन्, त्यतीबेला भने उनले खुबै चर्चा पाइन् । दीपिकाले अन्तिम ५ मा आफूलाई उभ्याउने आकलन गरिएको थियो । नेपालको आयोजकको पनि यही आशा थियो । तर, दीपिका अन्तिम १० मा पनि पुग्न सकिनन् । 

दीपिकाले यो प्रतिस्पर्धामा भाग लिन पाउँदा आफू अत्यन्त खुशी भएको उल्लेख गरेकी छिन् । उनले, सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्डलाई तोड्न पाउँदा आफू निकै नै खुशी भएको उल्लेख गरेकी छिन् । उनले, आफ्नो जीवनको यो क्षणलाई आफूले निकै कदर गर्ने पनि लेखेकी छिन् । 

दीपिकाले प्रतिस्पर्धा जित्न नसके पनि खुबै चर्चा पाइन् । अहिले सामाजिक संजालदेखि भिडियो प्लेटफर्ममा उनको भिडियोले खुबै चर्चा पाइरहेको छ । ७२ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’को उपाधि भने निकारागुआकी सेनिस पलासियोसले  जितेकी छिन् ।