'देश छोड्नेको लर्को'मा नेपाली समाजको वास्तविक चित्र

शैक्षिक अभियन्ता तथा सञ्चारकर्मी रतन देवकोटाको देश छोड्नेको लर्को गीत सार्वजनिक भएको छ । 

समिक्षा अधिकारी र देवकोटाको स्वरमा रहेको गीतको भिडियो निर्देशन मानव सुवेदीले गरेका छन् भने सुरक्षा पन्तले अभिनय गरेकी छन् । 

गीतमा समग्र वर्तमान नेपाली समाजको वास्तविक चित्र देखाउन खोजिएको छ । भिडियोमा नारीहरूले न्याय नपाएको कुरा देखि भ्रष्टाचार र राजनैतिक बेइमानीको कुराहरू उठान गरिएका छन् ।

नाटकीय शैलीमा तयार पारिएको गीतको भिडियोले युवाहरूले देश छोड्नुका कारणहरू उठाएको छ भने नागरिकहरू सरकार, राजनैतिक दल र कर्मचारी प्रणालीबाट हैरान भएको कुरा प्रस्तुत गरिएको छ ।  

यस्तै, भिडियोमा सुशासनको प्रत्याभूत गर्न नसकेको कुरा उठाइएको छ । नेता मात्रै समस्या होइनन् । जनता स्वयं एक चोक्टा मासु र एक चुस्कि रक्सीमा भुलेको कुरा पनि गीतमा नाटकीय ढंगले प्रस्तुत गरिएको छ ।

विभिन्न जात जाति धर्म र समुदायलाई प्रतिनिधि पात्रका रूपमा गीतमा उभ्याइएको छ । देशमा गरिखाने सकारात्मक माहौल नभएपछि अधिकांश युवाले विदेशीले सपना देखि रहेका छन् । देश छोड्नु धेरैको रहर होइन बाध्यता बनेको कुरा प्रस्ट्याइएको छ ।

सन् २०२० मा यो कस्तो शिक्षा हो ? गीतको सार्वजनिक गर्दै संगित क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका देवकोटा ग्यालेक्सी टिभीमा प्रसार हुने युगान्तर तथा शैक्षिक अपरेशन कार्यक्रमका निर्माता तथा प्रस्तोता हुन् ।

विगत १० वर्षदेखि शिक्षा तथा मिडियामा सक्रिय रहेका देवकोटा सङ्गीत कम्पोजर, गीतकार तथा गायक  हुन् । शिक्षा क्षेत्रको बेथिति विसङ्गतिलाई सङ्गीतको माध्यमबाट व्यङ्ग्यात्मक रूपमा भन्दै  आइरहेका छन् ।

शिक्षा तथा सामाजिक विषयवस्तुमा कलम चलाउने देवकोटाले विभिन्न सामाजिक विषयवस्तु समेटिएका उनका थप गीतहरूमा काम गरिरहेको बताएका छन् ।

गीत रतन देवकोटा युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।