फिल्ममा कमजोर प्रियंका रियालिटी शोमा व्यस्त, तर दर्शकको चित्त वुझाउन धौ–धौ


कुनै समयकी नम्बर १ नायिका प्रियंका कार्कीको हातमा अहिले फिल्मको चरम अभाव छ । उनी, फिल्ममा केमियो भूमिकामा समेत काम गर्न तयार छिन् । वैशाखको १५ गतेबाट रिलिज भएको फिल्म ‘नाई नभन्नु ल ६’मा उनको भूमिका एउटा गीतमा मात्र थियो । यसैले, प्रियंकाका लागि फिल्ममा लिड भूमिका अब विगत जस्तै भैसकेको छ । 

उनै, प्रियंकाको नजरमा अहिले रियालिटी शोहरु पर्न थालेका छन् । ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्ष बनेर हाँसिरहेकी प्रियंका यो शोमा पनि जम्न सकेकी छैनन् । दर्शकले, यो शोमा प्रियंकालाई त्यती धेरै रुचाएको पाइदैन । 

उनका लागि हिमालय टीभीबाट प्रशारण हुने रियालिटी शो ‘हिमालय रोडिज’ अझै चुनौतीपूर्ण बनिरहेको छ । दर्शकले यो शोमा प्रियंकालाई टिम लिडरको रुपमा खासै रुचाएको पाइदैन । समन श्रेष्ठले रोडिजको ग्याङ लिडर छाडेपछि निर्देशक सिमोस सुनुवारले प्रियंकालाई रोजेका थिए ।

तर, यो शोले आफैमा दर्शक पाउन धौ धौ परिरहेको छ भने प्रियंकालाई पनि प्रतिक्रियामा सकारात्मक जवाफ आएको छैन । दर्शकले, प्रियंकाको ठाउँमा समनलाई नै खोजिरहेका छन् । प्रियंकाले आफ्नो विधा भन्दा फरक भूमिका रोज्दा उनी दर्शकमाझ जम्न सकिरहेकी छैनन् । 

अर्को रियालिटी शो ‘मेरा डान्स यूनिभर्स’मा पनि प्रियंका निर्णायकको रुपमा छन् । तर, १ करोड पुरस्कार राशी राखिएको यो शोले त दर्शक नै पाउन सकिरहेको छैन । 

विश्वभरबाट खोजिएका प्रतिभाहरुलाई यो शोमा समावेश त गरिएको छ । तर, शोले युट्युबमा भ्यूज नपाउँदा आयोजक इन्ट्रा फाउन्डेशनलाई समस्या परेको छ । फिल्म र म्युजिक भिडियोमा क्रेज घटेपछि प्रियंकाले युट्युब च्यानल पनि संचालन गरिरहेकी छिन् । हिजोआज त उनको शोमा पोडकास्ट समेत हेर्न  पाइन्छ । 

प्रियंका भन्दा बरु उनकी छोरीका कारण दर्शकले उनको शोज, टिकटक भिडियो हेर्ने गरेका छन् । प्रियंकाले आफ्नो स्टारडम जोगाउन नसक्नु, हरेक फिल्ममा देखिनु, धेरै विवादमा पर्नु आदि कारणले उनको क्रेज चाडै बन्यो र चाडै नै सकियो ।