पश्चिमबाट फर्केपछि धिरज–जसिता भन्छन्–‘दर्शकको प्रतिक्रियाबाट उत्साहित छौं’


वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को प्रचारमा यसका मुख्य दुई कलाकार धिरज मगर र जसिता गुरुङ लागिपरेका छन् । उनीहरुले शुक्रबार र शनिबार पश्चिम नेपालको बुटवल, भैरहवा, कपिलबस्तु र नेपालगञ्जमा फिल्मको जोडतोडका साथ प्रचार गरे । सोही क्रममा उनीहरुले हजार भन्दा बढी कलेजका विद्यार्थी, फिल्म हेर्न हलमा पुगेका दर्शक र मिडियाकर्मीसँग साक्षात्कार गरेका थिए । 

विशेषगरि, दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्दा उनीहरु उत्साहित देखिए । नायिका गुरुङले भनिन्–‘हामीलाई दर्शकले दिनुभएको मायाबाट अझै आत्मविश्वास बढेको छ । दर्शकलाई फिल्मको बारेमा हरेक कुरा थाहा रहेछ । यसले पनि फिल्मप्रति दर्शकको चासो कति छ भन्ने थाहा हुन्छ ।’

नायक धिरज मगरले फिल्म हेर्न पश्चिम नेपालका दर्शकले देखाएको उत्साहले खुशी लागेको बताए । उनले भने–‘दर्शक र मिडियाकर्मीसँग साक्षात्कार गर्दा बल्ल फिल्मप्रति आम मानिसहरुको चासो  थाहा हुन्छ । यसपटक हामीले नजिकबाट दर्शकको फिल्मप्रतिको चासो र रुची वुझ्न पायौं । फिल्मको बारेमा दर्शकले सबैथोक थाहा रहेछ । यसले, उहाँहरुको फिल्म हेर्ने योजना प्रतिबिम्बित गर्छ ।’

रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको फिल्मले अहिलेको पुस्ताको सपना र योजनाको कथा भन्छ । यही कथालाई रेनशाले डान्सको माध्यमबाट देखाएकी छिन् । 

फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले हलमा दर्शकलाई तान्ने अपेक्षा पश्चिम नेपालका हल व्यवसायीहरुको थियो । उनीहरुले, फिल्मप्रति दर्शकको चासो बढेको भन्दै व्यापार सुखद हुनेमा आफूहरु विश्वस्त रहेको सुनाए ।