पूजाकी ‘भाउजु’ आँचल, आँचलकी ‘अग्रज’ पूजा


नायिका पूजा शर्माले फेक अश्लिल भिडियो भाइरल भएपछि नायिका आँचल शर्मालाई फोन गरेर साथमा रहेको बताएपछि लकडाउनको समयमा यी दुई शर्मा नायिकाको सम्बन्ध सुध्रिएको थियो । 

तर, पल शाहको केसमा पूजाले पललाई समर्थन गरेपछि आँचलले उनलाई अनफलो गरिन् । पूजाले सामाजिक संजालमा हेर्नै नसकिने अभिव्यक्ति दिएको तर्क गर्दै आँचलले उनलाई अनफलो गरेकी थिइन् । यसपछि भने यी दुई नायिकाको सम्बन्ध फेरि बिग्रियो । 

सार्वजनिक कार्यक्रममा एकसाथ भेट्दा नजिक भए जस्तो गरेपनि पूजा र आँचलको सम्बन्ध सुमधुर छैन । यतिसम्म कि, उनीहरु समय पाएसम्म एक अर्कालाई घुमाउरो तरिकाले कटाक्ष गर्न पछि पर्दैनन् । 

केही हप्ता अगाडि दिएको एक अन्तरवार्तामा आँचलले पूजालाई ‘अग्रज’ भनिन् । ‘अग्रज’ भनेर आँचलले पूजालाई आफू भन्दा निक्कै पुरानी नायिका भएको सन्देश दिन खोजेकी थिइन् । उसो त, आँचलले पूजालाई सिनियर भन्न सुहाउछ, तर ‘अग्रज’ तर्कसंगत शब्द होइन ।

तर, कतै न कतै आँचलले पूजालाई ‘अग्रज’ भन्दै उनी धेरै नै पुरानी नायिका भएको बताउन खोजेकी थिइन् । 

केही दिन अगाडि आफू अभिनित एक गीत रिलिज कार्यक्रममा पुगेकी पूजाले पनि घुमाउरो तरिकाले आँचलमाथि कटाक्ष गरिन् । उनले, आँचलले ‘अग्रज’ भनेकोमा खासै आपत्ती जनाइनन् ।
तर, प्रसंग जोड्दै उनलाई ‘भाउजु’ भनिन् । 

पूजाले ‘भाउजु’को प्रसंग निकाल्नुको पनि कुनै अर्थ थिएन । तर, उनले पनि आँचललाई कटाक्ष गर्न छाडिनन् । 

नेपाली फिल्मका कलाकारहरु एक अर्कासँग शितयुद्ध राख्छन् । अनी, मौका मिलेपछि सामाजिक संजाल वा मिडियाको माध्यमबाट कटाक्ष गर्न छाड्दैनन् । पूजा र आँचलको कटाक्ष पनि कहिलेसम्म चल्ने हो, उनीहरुलाई नै थाहा होला ।