के धिरजले अब पनि ४० लाख डिमाण्ड गर्लान् ?

एउटा फिल्म हिट भएपछि कलाकारहरु महंगो पारिश्रमिक माग गर्दिन्छन् । जसलेगर्दा, निर्मातालाई कलाकारसँग काम गर्न नै गाह्रो हुन थालेको छ । अझ, नाम चलेका केही स्टार मात्र भएको नेपाली फिल्म क्षेत्रमा महंगो पारिश्रमिकको मागले निर्माता फिल्म बनाउनै नसक्ने अवस्थामा पुगेका छन् ।

नायक धिरज मगर अभिनित पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ राम्रै चल्यो । यो फिल्म चलेपछि धिरजले दोश्रो फिल्म ‘आई एम ट्वान्टी वान’मा काम गरे । यो फिल्म अहिलेसम्म रिलिज भएको छैन । तेश्रो फिल्मको रुपमा उनले ‘बाबरी’मा काम गरे, जुन अहिले हलमा चलिरहेको छ ।

तर, ‘बाबरी’को इनिसियल व्यापारमा धिरजको स्टारडमले काम गरेन । फिल्म औषत चल्यो । निर्देशक सुरेन्द्र पौडेल आफै पनि कलाकारको स्टारडमले काम नगरेको चर्चा उनी निकटहरुसँग गर्दै हिडेका छन् । हुन पनि हो, धिरज मगर र अदिती वुढाथोकीको अनुहारले फिल्म चलाउन मद्दत नगरेको प्रष्ट छ । फिल्मको गीतसंगीत, प्रचारप्रसार र दर्शकको वर्ड अफ माउथले केही हदसम्म काम गरेको पक्का हो ।

नायक धिरज मगरले बजारमा ४० लाख रुपैयाँ पारिश्रमिक माग गर्ने गरेको खबर बाहिरिएको थियो । उनले, निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भागवत् गीता’मा ४० लाख माग गरेका थिए । धिरजले पनि आफ्नो टिमबाट यो कुरा गएको स्विकार गरेका थिए ।

धिरजले दुइवटा फिल्म नचल्दै यति महंगो पारिश्रमिक माग गरेको भन्दै आलोचना पनि भयो । तर, धिरज ‘बाबरी’ केही बिदेशी फिल्म र नेपाली फिल्म चलिरहेको समयमा रिलिज भएको र यसमा आफूहरुले जितेको दाबी गर्छन् । अष्ट्रेलियामा आयोजना हुन लागेको फिल्मको विशेष शोजका लागि नायिका अदितीसँग अष्ट्रेलिया उड्नु अगाडि धिरजले यो कुरा बताएका थिए । ‘बाबरी’को औषत व्यापार देखेका धिरजले के अब पनि बजारमा ४० लाख नै माग गर्लान् त, फिल्मीकर्मीविच चर्चा सुरु भएको छ ।