अझै २ बर्ष आमा बन्ने योजना छैनः वर्षा राउत

नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोग कोइरालाले ४ बर्ष अगाडि बिहे गरे । ६ बर्ष लामो प्रेम सम्बन्धमा रहेर बिहे गरेका यी दुइको वैवाहिक जीवनमा कहिलेकाही खटपट समेत हुने गरेको छ । वर्षाले आफूहरुबिच एकपटक निक्कै ठूलो झगडा परेको स्विकार गरेकी छिन् । सो समयमा आफू र संजोगको सम्बन्ध नै खराब मोडमा पुगेको वर्षाको भनाई छ । तर, अहिले सबै कुरा राम्रो भएको र आफू खुशी रहेको उनको भनाई छ ।

उनै, वर्षाले आमा बन्ने बिषयमा अझै नसोचेको बताइन् । भनिन्–‘मैले संजोगसँग यो बिषयमा कुरा पनि गरेको थिएँ । तर, उसले अझै २ बर्ष यो बिषयमा नसोचौं भनेको छ । यसैले, २ बर्षपछि मात्र सोच्नुपर्ला ।’

वर्षाले आमा–बाबु बन्ने कुरा सामान्य नभएको पनि तर्क गरिन् । भनिन्–‘यो सामान्य बिषय हुँदै होइन । धेरै नै ठूलो जिम्मेवारी बहन गर्नुपर्छ । यसैले, पनि सबै कुरामा तयार भएर हामी यसको बिषयमा योजना बनाउँछौं ।’

वर्षाले अभिनय गरेको फिल्म ‘के घर के डेरा’ कार्तिकको ४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा दर्शकले आफूलाई रुचाउने वर्षाको विश्वास छ ।