पर्दामा १ मिनेट देखिन्छिन् केकी, के ‘हिजो आजका कुरा’ ब्रान्डको लोभ हो ?

नायिका केकी अधिकारीका लागि यो बर्ष रिलिज भएको फिल्म ‘झिङ्गे दाउ’ले ठूलो राहत दिएको छ । दीपकराज गिरीको समुहको फिल्म ‘छ माया छपक्कै’ बाहेक केकीको करिअरमा हिट फिल्म नै थिएन । तर, यो फिल्म चल्दा भने केकीलाई ठूलो राहत भएको पक्कै छ ।

उनै, केकी बुधबार आयोजना भएको फिल्म ‘हिजो आजका कुरा’को प्रिमियरमा पुगिन् । केकी लेहेङ्गा लगाएर पुगेकी थिइन् । फिल्मको गीतमा केकी भएपनि फिल्ममा पनि उनी छन् या छैनन् भन्ने खासै प्रचार भएको थिएन ।

तर, फिल्मको पर्दामा केकीलाई कुरेका मिडियाकर्मी र फिल्मीकर्मीले उनको झल्को पाए । लसुन छोडाउँदै गरेकी केकी १ मिनेट जति पर्दामा देखिइन् र हराइन् ।

केकीले १ मिनेटका लागि खासै अर्थ नदिने भूमिका किन गरिन् भन्ने कौतुहलता उठ्नु त स्वभाविक नै हो । विशेषगरि, केकीले फिल्म ‘हिजो आजका कुरा’ एउटा ब्रान्ड भएकाले पनि जस्तो भूमिका आएपनि आफूले स्विकार गरेको तर्क गरिन् ।

निर्देशक साकार पन्तले त केकीलाई छोटो भूमिकामा देखाएर भएपनि नाम चलेका कलाकारहरुको भीड फिल्ममा लगाएका छन् । तर, केकीलाई भने ब्रान्डको लोभले १ मिनेटमै खेल्न पनि आकर्षित गरेछ । जेहोस्, केकीलाई हेर्नका लागि तपाइले फिल्मको कुनै पनि दृश्य छुटाउनु हुदैन । यसो कतै भुल्नु भयो भने केकी पर्दामा आएको र गएको थाहा हुदैन है ।