‘बाबरी’बाट अदितीले के पाइन् ?

यदि वितरकले केही बढी चासो दिएको भए असोजको १४ गतेबाट रिलिज भएको नेपाली फिल्म ‘बाबरी’ शोजको बाँडफाँडमा यति साह्रो चेपुवामा पर्ने थिएन । दोश्रो सातामा पनि पाएको शोजमा दर्शकको राम्रो साथ फिल्मले पाइरहेको छ । तर, वितरकले देशभर नै शोज बढाउनमा चासो नदिएको प्रष्ट देखिन्छ ।

खैर, यो अर्को पाटो भयो । हामीले यहाँ यो फिल्मकी नायिका अदिती वुढाथोकीको कुरा गर्दैछौं । फिल्म ‘कृ’मा काम गरेपछि नेपाली दर्शकमाझ राम्रो छाप छाडेकी अदिती करिब ५ बर्षको अन्तरपछि दर्शकमाझ आइन् । एउटा कुरा प्रष्ट के हो भने, अदितीले लामो समय ग्याप लिदा दर्शकमाझ उनलाई फेरि फर्किन केही समस्या भएकै हो । यसैले, आगामी दिनमा अदितीले यति लामो समय ग्याप लिनु हुँदैन भन्ने प्रष्ट भएको छ ।

फिल्म ‘कृ’मा देखाउन नपाएको अभिनय यो फिल्ममा देखाउने अदितीको भनाई थियो । निर्देशक सुरेन्द्र पौडेलले पनि अदितीका माता पितासँग एक पटक अवसर दिन आग्रह गरेका थिए । अदितीकी आमा पुष्पलता वुढाथोकी र पिता गणेश वुढाथोकीले दिल खोलेरै लगानी गरे ।

फिल्ममा अदितीले सोलो नायिका छिन् भने २ नायक छन् । यसपटक, उनलाई ‘कृ’मा जस्तो अनमोल केसीको स्टारडमले छायामा पारेन । धिरज मगर र अदितीको जोडी दुबैलाई दर्शकले पर्दामा मन पराए ।

अदितीले यो फिल्ममा काम देखाउने मौका गज्जबले पाएकी छिन् । एउटा कुरा स्पष्ट के छ भने, अभिनयमा अदिती अझै पनि खुल्न आवश्यक छ । पर्दा बाहिर जस्तै उनको खुलेर नबोल्ने बानी पर्दामा पनि देखिएको छ ।

फिल्ममा अदिती सुन्दर देखिएकी छिन् । ‘कृ’मा भन्दा उनको काम यो फिल्ममा राम्रो छ । अझै, उनले अभिनयको हकमा आफूमा निखारता ल्याउन आवश्यक छ ।

नेपाली फिल्म क्षेत्रले अदितीलाई एक आशातित नायिकाको रुपमा हेरेको छ । यसैले, आगामी दिनमा उनले गर्ने कामबाट दर्शक, मिडियाकर्मी र फिल्मीकर्मी अझै बढी अपेक्षित हुनेछन् । अदितीले यो बिषयमा गम्भिर भएर सोच्न आवश्यक छ ।

तर, ‘बाबरी’ले अदितीको लामो समयको ग्याप तोडिदिएको छ । अदितीले अब आफूलाई नेपाली फिल्ममा नै बढी केन्द्रित गरेर काम गर्न आवश्यक देखिन्छ ।