आइतबारसम्म बिरामी ‘प्रकाश’ सोमबारबाट ठिक हुने हो प्रदीपजी ?

नायक प्रदीप खड्का आइतबार दिउँसो निर्देशक तथा कलाकार दिनेश डीसीसँग काठमाडौंको याक एन्ड यति होटलमा थिए । बलिउड नायक गोविन्दा आएका कारण पनि दिनेश डीसीकै चाँजोपाँजोमा प्रदीपसँग भेट गराए । गोविन्दाले पनि प्रदीपलाई भारतमा हिन्दी फिल्म ‘प्रेमगीत ३’को प्रचारमा सहयोग गर्ने वाचा गरे ।

प्रदीपको विगत ३ दिन निक्कै नै तनावपूर्ण रह्यो । शुक्रबार फिल्म ‘प्रकाश’ले शो नपाएको भन्दै आक्रोशित रुपमा पत्रकार सम्मेलन गरेका प्रदीप शनिबार केही कुल देखिए । आइतबार उनी दिनभर दिनेश डीसीसँग थिए भने बेलुका उनै डीसीलाई लिएर फिल्म ‘प्रकाश’को स्पेशल शोमा पुगे ।

उनै, प्रदीप अर्को फिल्म ‘प्रेमगीत ३’को प्रचारमा पनि खुबै दौडिरहेका छन् । त्यो विगत एक महिना यता पनि देखिएकै हो । आइतबार दिउँसो ३ बजे चलचित्र विकास बोर्ड परिसरमा ‘प्रेमगीत ३’को टिमलाई सम्मान गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा प्रदीप पुगेनन् ।

तर, बेलुकी ६ बजे ‘प्रकाश’को विशेष शोमा उनी पुगे । प्रदीपले विगत एक महिनादेखि ‘प्रेमगीत ३ र प्रकाश’को प्रचार एकसाथ गरिरहेको कुरा पक्का हो । अझ, उनका हरेक स्टाटसमा यी दुबै फिल्मको नाम जोडिएका पनि हुन्छन् ।
विकास बोर्ड फिल्म क्षेत्रको सरकारी अभिभावक हो । यसैले, बोर्डले प्रेरणा दिन आयोजना गरेको कार्यक्रममा प्रदीप नपुग्नु आफैमा आश्चर्यको कुरा थियो । उनले यो बिषयमा स्पष्टिकरण दिदै भने–‘अहिले प्रकाश बिरामी छ । यसैले, मैले बिरामी प्रकाशलाई छाडेर जानु उपयुक्त हुँदैन । यदि, बिहे र बिरामीको अवस्था रोज्ने हो भने म बिरामीसँगै हुन्छु ।’

कुरा पनि ठिकै हो । बिरामी ‘प्रकाश’लाई छाडेर यसै चर्चामा रहेको ‘प्रेमगीत ३’को सम्मान थाप्न किन जानु ? तर, यसो भनिरहँदा प्रदीप आफ्नै कुरामा अलमल देखिए । उनी, फेरि आजबाट फिल्म ‘प्रेमगीत ३’को प्रचारमा लाग्ने बताउँदै थिए । किनकी, अब ‘प्रकाश’को ज्वाला दन्किएको र सोमबारबाट यो फिल्मलाई आफू नभएपनि हुने उनको तर्क थियो ।

आइतबारसम्म बिरामी भएको ‘प्रकाश’ सोमबार एकाएक ठिक हुने रहेछ कि क्या हो प्रदीपजी ? प्रदीप आज फिल्म ‘प्रेमगीत ३’को प्रचार गर्ने भन्दै भारत जाँदैछन् । संभवत, उनले अब पुरा समय यही फिल्मलाई दिनेछन् । विकास बोर्डको सम्मान कार्यक्रम थाप्न पुग्नुपर्दा ‘प्रकाश’को मायाले भुतुक्कै सताएको थियो प्रदीपलाई । तर, आजबाट फेरि यो फिल्मका लागि आफू नभएपनि हुने तर्क उनको छ ।

फिल्म ‘प्रकाश’ले हल नपाउनुको पछाडि विकास बोर्ड अध्यक्ष भुवन केसीको नाम समेत कही कतै मुछिएको छ । तर, फिल्म हलमा शो दिने वा नदिने भन्ने कुरा उक्त हल संचालकको हातमा हुन्छ । यसमा विकास बोर्डले यसलाई यति शो दिनु अर्कोलाई नदिनु भनेर भन्ने ठाउँ हुँदैन ।

किनकी, हलमा शो वितरणमा नेपाली फिल्ममाथिको विभेद भुवन केसी अध्यक्ष भएपछि मात्र देखिएको होइन । यसअघि पनि यस्ता विभेदले कैयौं निर्माता कराएका थिए ।

जेहोस्, प्रदीपले भने यसपटक भुवन केसीसँग आफ्नो सम्बन्ध चिसो छ भनेर प्रष्टै रुपमा देखाएका छन् । तर, चलचित्र विकास बोर्ड भुवन केसीको भन्दा पनि सरकारी संस्था हो भन्ने कुरा प्रदीपले वुझ्नुपर्ने हो ।