प्रदिपको ‘प्रकाश’ डिएआर मुभिजले मार्यो बाजी

 

काठमाडौँ- दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्का अभिनित प्रतिक्षित फिल्म ‘प्रकाश’को डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ। ‘प्रकाश’ फिल्मका निर्माता महेन्द्र अधिकारी फिल्मका वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा फिल्म खरिद सम्झौता गरिएको छ। हाल सम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्रि भएको निर्माता अधिकारीले बताए। फिल्मको भारतमा हिन्दि भाषामा डब गरेर समेत प्रदर्शन गरिने तयारी रहेको जानकारी निर्माताले दिए । फिल्म भारतका विभिन्न शहरमा रहेका चलचित्र घरमा नेपाली भाषामा समेत प्रदर्शन गरिने छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रदीपको अलावा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहेको छ । फिल्ममा दिपक शर्मा,तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ। फिल्मले गाउँको शिक्षकले सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको छ । फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन। छिट्टै फिल्मको पोस्टर तथा टिजर सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ।