‘पासवर्ड’ निर्देशकको ‘लाखे’, फिल्ममा सौगातदेखि सुनिलसम्म, नयाँ कलाकारलाई अवसर

 

निर्देशक सम्राट बस्नेतको निर्देशनमा फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । यसअघि ‘पासवर्ड’ निर्देशन गरेका बस्नेतको निर्देशनमा मल्टिस्टार कलाकार लिएर चलचित्र ‘लाखे’ बन्न लागेको हो ।फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भईसकेका छन् ।फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट गरिने निर्देशक बस्नेतले बताए । ‘प्रतिभा भएरपनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाँहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेत भन्छन् ‘अडिसनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान ब्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । निर्देशकले बाँकी कलाकार  अडिसनमार्फत छनौट गरिने बताए ।

फिल्मको करिव आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको हो । निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।

कलाकार छनौटका लागि अडिसन आगामी शनिबारअर्थात् मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११: ३० बाट राखिएको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । अडिसन फिल्ममा करियर बनाउन चाहने जो कोहीले दिन सक्नेछन् । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए ।