फिल्म‘ओभरडोज’’दर्शकले रुचाउनेमा विश्वस्त छु : अभिनेता प्रनिशराज पन्त

 

काठमाडौँ– आउँदो शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन् ।

‘एकदमै मेहनत गरेको थिए । सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु’ पन्तले भने । उनको यो पहिलो फिल्म हो । उनले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताए । ‘पहिले घरबाट सपोर्ट थिएन् । बाहिर गएपछि अभिनयको बाटो खुल्यो’ उनले भने । राम्रो फिल्मबाट अफर आए सधै काम गर्न तयार रहेको समेत बताए । अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाँकन गरिएको छ । सुमन पौडेलको कथा एवं निर्देशन रहेको फिल्ममा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।

अभिनेता पन्तले फिल्ममा फ्रेण्डसिप र धोकाको कथा पनि देखाईएको बताए । फिल्ममा प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको फिल्मको निर्माता जीवनकुमार केसी हुन् । गुच्ची भाईको छायांकन रहेको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जि.जि.ए ग्रुपले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।